परीक्षा उत्तीर्ण गरेकाले पनि चालक अनुमतिपत्र पाएनन्

सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन् ।
लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका सात लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन् । यातायात व्यवस्था विभागले गत वर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ । तर, कोभिडलगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ । विदेश जाने र अतिआवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारु नै छ । विभागका प्रवक्ता भुसालले सबै खरिद् प्रकिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए । उनले १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिफ्टमा छपाइको काम गरेर भए पनि वितरण गर्ने बताए ।
विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थायीरूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ ।