विकासको नाममा डोजर आतंकले निम्त्याएको विपद

विकासको नाउँमा गाउँगाँउमा डोजरले जथाभावी सडक खन्दा बझाङ बाढीपहिरोको उच्च जोखिममा परेको छ । वातावरणीय प्रभावको अध्ययन नगरी प्राविधिक स्टिमेट बिना डोजर लगाएर सडक निर्माण गर्दा जिल्लाका ग्रामीण बस्तीमा पहिरोको खतरा बढेको हो ।
मुख्य राजमार्गसँंग ग्रामीण सडक सञ्जाल जोडने होडबाजीका कारण यो अवस्था आएको हो ।
यसरी जथाभावि प्राविधिक स्टिमेट विनासडक निमार्ण गर्दा भविश्यमा ठूलो विपदमा पर्नेतर्फ कसैको ध्यान गएको छैन । सडकको पहुँच पुग्दा खुसी हुनुपर्ने बझाङका ग्रामीण भेगका बासिन्दामा रुवाबासी चलेको छ । सडक निर्माणले निम्त्याएको विनासका कारण यहाँका अधिकांस गाँउ पहिरोको उच्च जोखिममा छन । दुई नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा सबै स्थानीय तहले विकासका नाममा डोजरमार्फत सडक निर्माण गरिरहेका छन् ।
जिल्लाभरिमा दुई दर्जनभन्दा बढी ग्रामीण सडकका कारण दुई हजारभन्दा बढी स्थानमा पहिरोको जोखिम छ । कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिन प्रतिदिन बढ्दै गएको छ । वर्षात्मा पहिरोले घर तथा खेतमा ठूलो क्षति पु¥याएको छ भने हिँउदमा पनि सुख्खा पहिरो खस्ने भएपछि बस्ती विस्थापित हुने डर यहाँका स्थानीयमा छ ।
बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोका कारण सबैभन्दा धेरै मानिवीय क्षति भएको जिल्ला बझाङ हो । बझाङमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । यसरी पहिरो जानुको एउटा कारण वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएको सडक पनि देखिएको छ । प्राकृतिक विपद बाढीपहिरोबाट सबैभन्दा बढी सुरक्षित मानिएको बझाङको खप्तडछान्ना गाउँपालिका हो ।
तर यस वर्ष सबैभन्दा बढी भौतिक क्षति खप्तडछान्ना गाउँपालिकामा भएको छ । तमैल ऐचेलीबगर जोडने सडकको नामोनिसान छैन । खातीगाँउ, डाँडागाँउ गडीगाँउ, कालुखेती, गडरायलगायतका गाउँमा पहिरोले ठूलो क्षति गरेको छ । गाँउमा सडक पु¥याउने होडबाजीले घरनजिकै भएर सडक खनियो । सडकका लागि वरपर तलमाथि ठाउँ हुँदाहँुदै पनि विकासका नाममा अन्धाधुन्धा डोजर लगाउँदा यस्तो अवस्था आएको खप्तडछान्नाका कमल रावलले बताए । उनले भने, “यस्तो होला भन्ने हामीलाई थाहा भएन । सडक पुग्छ आवतजावतमा सहज हुन्छ भनेर खुसी भएका थियौं । तर पानी परेपछि सडकमै भल बगेर सडक भासिएर पहिरो गएपछि ठूलो क्षति भयो । अहिले सयौ परिवार विस्थापित हुने अवस्थामा छौं । सबै गाउँ धुजा धुजा भएर फाटेको छ । घरमा बस्न पनि डर लाग्न थाल्यो ।” सडक निर्माण गर्दा थुपारेको माटोलाई निरन्तरको वर्षाले बगाएर बाढीको रूप लिई भौतिक क्षति गरेको उनको भनाइ छ ।
बाढीपहिरो प्रभावित खुल्ला चौर, सडक र विद्यालयमा जोखिमपूर्ण रूपमा बसिरहेका छन् । यसरी बेमौसममा परेको पानीका कारण यति ठूला पहिरो जानु र क्षति हुनुको कारण खोजी गर्दैै जाँदा वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडक पनि कारण हुनसक्ने स्थानीयले बताउन थालेका छन् । स्थानीय सरकार आएपछि गाउँमा विकासको पहिलो प्राथमिकतामा सडक पर्ने गरेको छ । सडक खन्दा इन्जिनियङ मापदण्ड नअपनाउने तथा दीर्घकालीन रूपमा वातावरणमा पर्नसक्ने जोखिमका बारेमा पनि अध्ययन नहुँदा विकासका लागि खनिएका सडकले विनास गर्ने गरेको भूगर्भ इन्जिनियर कमल थापाले बताए । उनले भने, “बझाङको भूगोलको अध्ययन नगरी सडकखन्दा समस्या देखिएको हो । स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक पर्ने गरेको छ । स्थानीय सरकारले आफ्ना नजिकका नातेदार र कार्यकर्तालाई खुसी बनाउन उपभोक्तामार्फत योजना दिने र उनीहरूले गरेको काम प्रभावकारी भए नभएको अनुगमन नहुँदा यस्तो समस्या आएको हो । मौसमी प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य योजना बन्ने गरे पनि कार्यान्वयन फितलो हुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम नरोकिएको थापाको भनाइ छ ।
ग्रामीण सडक निर्माणले मुख्य राजमार्ग जयपृथ्वी राजमार्गको बागथलादेखि सदमुकामसम्मका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । दुई साता पुग्न लाग्दा पनि नारुगौडा र जाल्याबगरमा अहिले नै सडक सुचारु हुने अवस्था छैन । सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । ग्रामीण क्षेत्र जोडने सडक निर्माण हुनुअघि राजमार्ग खासै अवरुद्ध हँुदैन थियो । तर शाखा सडक निर्माण भएपछि वर्षात्को समयमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको चालक लोकेन्द्र जाग्रीले बताए । वर्षात्को समयमा नारुगौडाबाहेक अन्य ठाँउमा सहजै आवतजावत हुन्थ्यो । तर अहिले सडक निर्माणको होडबाजीले वर्षात्को समय सास्ती खेप्नु परेको उनको भनाइ छ । जिल्लाभरिमा दुई दर्जनभन्दा बढी ग्रामीण सडकका कारण दुई हजारभन्दा बढी स्थानमा पहिरोको जोखिम छ । सडक निर्माणको क्रममा जथाभावी डोजर लगाउँदा जिल्लामा दर्जनौं खानेपानीका आयोजना, सिँचाइ नहर, लघुजलविद्युत आयोजना, विद्यालय, स्वास्थ्य केन्द्रलगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।