महाधिवेशनमा भाग लिँदा स्वास्थ्य मापदण्ड पालना गर्नुस् : सभापति देउवा «

महाधिवेशनमा भाग लिँदा स्वास्थ्य मापदण्ड पालना गर्नुस् : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारदेखि प्रारम्भ भएको पार्टीको गाउँ/नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले एक सन्देशमार्फत गाउँ/नगर अधिवेशनको प्रक्रियामा सहभागी पार्टीका नगर र गाउँका प्रतिनिधिप्रति स्वागत तथा शुभकामना व्यक्त गरेका छन् । प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्दै सभापति देउवाले जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ ।
पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

‘महाधिवेशनको मिति सर्दैन’
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसिर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रिय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रिय समितिमा हामी विधिवत रुपमा जान्छौं ।’
हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिका स्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रिय निर्वाचन समितिबाट अनूमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए । बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रिय समितिको बैठक बोलाउने निर्णय पनि काँग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्