सडक निर्माणमा अनियमितता «

सडक निर्माणमा अनियमितता

जनकपुरधाम-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ठेकेदार र कर्मचारीको मलोमतोमा मापदण्डविपरीत सडक निर्माणकार्य भइरहेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा जनकपुरको भैरव चोकदेखि महावीर चोकसम्म निर्माणाधीन सडकको काम गुणस्तरहीन भइरहेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।
स्थानीयको विरोधपछि घटनास्थल पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्राविधिक टोलीले सम्झौताअनुसार काम गराउने प्रतिबद्धता जनाएका छन् । उनले सही ढंगले काम सम्पन्न नभए राष्ट्रिय सतर्कता केन्द्रलाई जानकारी गराई कारबाही प्रक्रिया अघि बढाउने चेतावनी सहरी विकास कार्यालयलाई दिएका छन् । अनुगमनमा गएका प्रजिअ कनलले गुणस्तरीयतामा कुनै सम्झौता नहुने बताए । उनले विकास निर्माणकार्य रोकिनु हुँदैन, तर कमसल र गुणस्तरहीन कार्य कुनै पनि बहानामा सह्य नहुने र काम गुणस्तरयुक्त हुनुपर्ने बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले आफ्नी छोरीको विवाहका लागि ठेकेदारलाई एक साताभित्र सडक निर्माण सम्पन्न गर्न दिएको निर्देशनअनुसार ठेकेदारले हतारहतारमा बाटो कालोपत्रे गर्न लागेपछि गुणस्तरहीन काम भइरहेको स्थानीयवासीको आरोप छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषाका इन्जिनियर चिरञ्जीवी साहले सघन सहरी विकास आयोजना अन्तर्गत सहरी विकास मन्त्रालयको ८३ करोड रुपैयाँको आर्थिक सहयोगमा जनकपुरधाममा १६ किमिभन्दा बढी कालोपत्रे सडकको निर्माणकार्य भइरहेको छ । निर्माणको जिम्मेवारी पाएको रमण कन्ट्रक्सन र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको प्राविधिकको मिलोमतोमा सम्झौताविपरीत कमसल काम भइरहेको स्थानीयवासीको भनाइ छ ।
रमण कन्स्ट्रक्सनका प्रमुख बलराम महतोले सडकमा कालोपत्रे नगरिएको र कालोपत्रे पूर्व गरिने प्राइम कोटको काममात्र भएको जिकिर गरे । उनले यस कामपछि सडक सुचारु रहोस् भन्ने उद्देश्यले त्यसमाथि बालुवा छर्ने र त्यसपछि सम्झौताअनुसारकै स्तरीय कालोपत्रे हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्