Logo

घरजग्गामा महिलाको स्वामित्व बढ्यो

सरकारले घरजग्गा पास गर्दा महिलालाई २५ प्रतिशत, एकल महिलालाई ३५ प्रतिशत, ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, दलित तथा अपांगता भएकालाई २५ प्रतिशत रजिस्ट्रेसन शुल्क छुट दिँदै आएको छ ।

तेह्रथुम-सरकारले महिलाका नाममा घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म राजस्व छुट दिने व्यवस्था गरेपछि तेह्रथुममा घरजग्गा रजिस्ट्रेसन गर्ने महिलाको संख्या वृद्धि भएको छ ।
सरकारले घरजग्गा पास गर्दा महिलालाई २५ प्रतिशत, एकल महिलालाई ३५ प्रतिशत, ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, दलित तथा अपांगता भएकालाई २५ प्रतिशत रजिस्ट्रेसन शुल्क छुट दिँदै आएको छ । राजस्व छुट हुँदा सर्वसाधारणले राहत पाउनुका साथै घरजग्गालगायतका अचल सम्पत्तिमा महिलाको स्वामित्वसमेत बढ्दै गएको छ ।
जिल्ला मालमोत कार्यालयका अनुसार विगत तीन वर्षयता मात्र जिल्लामा ९ सय ६९ जनाले महिलाको नाममा घरजग्गा पास गरेको निमित्त कार्यालय प्रमुख रमेश गौतमले बताए । “विगत चार/पाँच वर्ष अघिसम्म महिलाको नाममा घरजग्गा दर्ता गराउने विरलैमात्र भेटिन्थे,” प्रमुख गौतमले भने । पछिल्लो समय राजस्व छुट र सामाजिक चेतनासँगै आएको परिवर्तनले जिल्लामा महिलाको नामले घरजग्गा रजिस्ट्रेसन गराउनेको संख्यामा वृद्धि हुँदै गएको छ । यसले महिलाको आर्थिक तथा सम्पत्ति स्वामित्वमा वृद्धि गरेको रजिस्ट्रेसन फाँटकी प्रमुख रुकादेवी सुवेदी उप्रेतीले बताइन् ।
आर्थिक वर्ष २०७२/७३ मा ग्रामीण महिलाका नाममा ३ सय ३९ जना, शहरी महिलाका नाममा ३ सय ४, शहरी दलित ५, ग्रामिण दलित ९ जनाको नाममा लिखत पास भएको छ । त्यस्तै अपांगता शहरी २ र ग्रामीण ५ जनाको नाममा जग्गा पास भएको छ । जसबाट उनीहरूले १५ लाख १६ हजार ६४ रूपैयाँ राजस्व छुट पाएका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा ग्रामीण महिलाका नाममा १ सय ८३ जना, शहरी महिलाका नाममा १ सय १९ जनाको नाममा घरजग्गा पास भएको छ भने दलित ग्रामीण ७, शहरी ४ र अपांगता १ र ज्येष्ठ नागरिक ३ जनाको नाममा लिखत पास भएको मालपोत कार्यालयले जनाएको छ । जसबाट उनीहरूले ५ लाख ४० हजार ८ सय ३ रूपैयाँ छुुट पाएका छन् ।
आव २०७४/७५ मा ग्रामीण महिलाका नाममा १ सय ११, शहरी महिलाका नाममा २ सय १७, दलित ग्रामीण १, शहरी १ र अपांगता भएका २ जनाको नाममा जग्गा पास भएको छ । जसबाट उनीहरूले ८ लाख ८० हजार ७ सय ७० रूपैयाँ छट पाएका छन् । यसरी तीन वर्षमा उनीहरूले २९ लाख ३७ हजार ६ सय ३७ रूपैयाँ छुट पाइसकेको कार्यालयले जनाएको छ ।
जिल्लामा एकल महिलाले अहिलेसम्म घरजग्गा पास नगरेको प्रमुख गौतमले बताए । सरकारले दलित र ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पनि आफ्नो नाममा घरजग्गा पास गराएमा महिला सरह राजस्व छुट दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०६५/६५ सालदेखि शेषपछिको वकसपत्र, दानपत्र र धितोबन्धकी बाहेकका महिलाको नाममा रजिस्टे«सन पास हुने घरजग्गामा सरकारले यस्तो सुविधा दिँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस्