सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी

आईजीपी बढुवामा पेश गरिएको कार्यसम्पादन मूल्यांकन किर्ते प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान अघि बढाएपछि नेकपा एमालेका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा पूर्व डीआईजी नवराज सिलवालको परिवारले देश छोडेको छ ।
नेपालमा रहँदा अनुसन्धानका क्रममा प्रहरीबाटै पक्राउ परिने सम्भावना देखेपछि सिलवालले केही महिनाका लागि देश छोडेको उच्च स्रोतले दाबी गरेको छ । सिलवाल मुलुक छोडेर विदेश गएपछि परिवारका अन्य सदस्य पनि अमेरिका प्रस्थान गरेका छन् ।
३ साताअघि सिलवाल स्थलमार्ग हुँदै भारतबाट मलेसिया पुगेको स्रोतले जानकारी दियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया जाँदा रेकर्डमा देखिने भएपछि सिलवाल स्थलमार्गबाट दिल्लीबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मलेसियाको राजधानी क्वालालमपुरबाट समेत सिलवाल इन्डोनेसियाको बालीतर्फ प्रस्थान गरेको मलेसियास्थित स्रोतले जानकारी दियो । अहिले सिलवाल बाली वा अन्यत्र रहेको भन्नेबारे स्रोतले यकिन गर्न सकेन । यसैगरी गत साता सांसद तथा पूर्वडीआईजी सिलवालकी पत्नी सिर्जना एक छोरीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेकी छन् ।
अध्यागमन उच्च स्रोतका अनुसार गएको साता उनी छोरीसहित अमेरिका उडेकी हुन् । “सिर्जना सिलवाल र उहाँसँग सिलवाल थरकै लेडिज गतसाता अमेरिका प्रस्थान गरेको रेकर्ड छ,” त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थल स्रोतले भन्यो, “पूर्वडीआइजी सिलवालको भने विमानस्थलबाट बाहिर कतै गएको रेकर्ड देखिँदैन ।”
सिलवाल विदेश पलायन भएसँगै आईजीपी बढुवामा पेश गरिएको कार्यसम्पादन मूल्यांकन किर्ते सम्बन्धि अनुसन्धान नै प्रभावित बन्ने देखिएको छ । अनुसन्धानका लागि पत्र काटिएका व्यक्ति नभेटिएसँगै सिलवाल प्रहरीको फरार प्रतिवादीको सूचीमा छन् । नेपाल प्रहरीले सिलवालविरुद्ध इन्टरपोल मार्फत ‘डिफ्युजन नोटिस’ जारीको प्रक्रिया थालेको छ । “अनुसन्धानका क्रममा रहेका व्यक्ति फरार भएपछि डिफ्युजन नोटिस जारी गरी खोजी कार्य अघि बढाइने तयारी भइरहेको छ,” प्रहरी स्रोतले भन्यो । अनुसन्धानका क्रममा रहेका आरोपित÷अभियुक्त फरार रहेमा विश्वका प्रहरीहरुको साझा संस्था इन्टरपोल मार्फत खोजी गर्न डिफ्युजन नोटिस जारी गर्न सकिने प्रावधान छ ।
तर, प्रहरी स्रोतले अनुसन्धानको पाटो निरन्तर अघि बढ्ने जानकारी दियो । “यस्तै प्रकृतिका मुद्दामा यसअघि जुन ढंगले अनुसन्धान हुन्थ्यो, यो प्रकरणमा पनि त्यसै अनुसार अघि बढ्नेछ,” स्रोतले भन्यो, “हामीलाई दिइएको जिम्मेवारी पूरा गर्नेछौं ।”
सर्वोच्च अदालतले आईजीपी बढुवा प्रकरणमा सिलवाल र सरकारका तर्फबाट पेश गरिएका कागजातमा कार्यसम्पादन÷मूल्यांकनको अंक फरकफरक देखिएपछि छानबिन गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेशसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले डीएसपी वेलबहादुर पाण्डेको नेतृत्वमा अनुसन्धान जारी राखेको छ ।
त्यही क्रममा केही साताअघि नै काठमाडौं परिसरले सिलवाललाई बयानका लागि उपस्थिति गराइदिन आग्रह गर्दै पत्र पठाएकोमा पुर्जी काटेकोमा महानगरीय प्रहरी परिसर ललितपुरले सिलवाल फेला नपरेको व्यहोरा पठाइसकेको छ ।
पुस १८ गते मंगलबार काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गर्दै सिलवाललाई उपस्थित गराउन भनेको थियो । काठमाडौं परिसरको पत्रपछि ललितपुर प्रहरीको टोली सिलवालको घरमा पुग्दा नभेटेपछि सोही व्यहोरा सहित काठमाडौं प्रहरीलाई जानकारी गराएको थियो ।