निर्माण सुरु भएको ८ वर्षपछि बन्यो पुल «

निर्माण सुरु भएको ८ वर्षपछि बन्यो पुल

लमजुङ-लमजुङमा निर्माण सुरु भएको करिब ८ वर्षपछि मोटरेबल पुल ढलान भएको छ । दुई वर्षमा सक्नुपर्ने पुल निर्माण सुरु भएको ७ वर्ष ८ महिनामा ढलान सुरु भएको हो ।
लमजुङको बेसीसहर नगरपालिका–११ चिती र दोर्दी गाउँपालिका–४ नौथरसेरा जोडिने ६० मिटर लम्बाइको मोटरेबल पुल २०६८ चैतमा शिलान्यास भएको थियो । पुल निर्माणको ठेक्का पाएका हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले काममा ढिलाइ गरेपछि आठ वर्षसम्म पुल निर्माण हुन नसक्दा दोर्दी करिडोरका विकास योजना प्रभावित भएका थिए ।
सरकारले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही थाल्ने प्रक्रियाअघि बढाएपछि गत जेठबाट निर्माणकार्यले गति लिएको हो । सरकारको कदमसँगै ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएपछि पछिल्लो समय कामले निरन्तरता पाएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।
पुल निर्माण सक्न अझै तीन महिना लाग्ने निर्माण पक्षले जनाएको छ । लगातारको ताकेतापछि बल्ल कामले गति लिएको हो । पुल ढलान भइसकेकाले अब भने तोकिएको समयमा काम हुनेमा स्थानीय ढुक्क छन् । पुलको ढलान भएपछि दोर्दीका स्थानीय खुसी बनेका छन् भने विकासले गतिलिने विश्वास गरिएको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
निर्माणमा ढिलाइ गरेपछि सडक कार्यालयले निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना पनि गरेको छ । समयमा पुल नबन्दा दोर्दी खोलामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भइरहेका छन् । वर्षौं अघिदेखि मन्त्री, नेता, सीडीयो, एलडीयो सबैलाई ताकेता गर्दा गर्दा स्थानीय दिक्क भएका थिए । अब बल्ल पुल निर्माण सम्पन्न हुने आशा पलाएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए ।
६० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त पुल २ करोड ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको थियो । पुलमा तीनवटा स्ल्याब ढलान जोड्न एक्सपान्सन ज्वाइन्ट राख्न बाँकी छ । रेलिङ र दायाँ–बायाँ एप्रोच सडक निर्माण गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई ७५ प्रतिशतभन्दा बढी रकम भुक्तानी दिइसकेको छ ।
सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्