जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति «

जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति

काठमाडौं-जनकपुर-सरकारले बिदामा आएर रोजगारीका लागि पुनःः विदेश जाने कामदारलाई घरपायक सेवा दिन आइतबारदेखि प्रदेश तहमा नै पुनःः श्रम स्वीकृतिको व्यवस्था सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति प्रणालीको केन्द्रिकृत सेवालाई प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलमा कार्यालय स्थापना गरेर सेवा विस्तार गरेको हो ।
पुनः श्रम स्वीकृति सेवालाई विकेन्द्रीकरण गरेर सरकारले लामो समय र हजारांै खर्च गरेर काठमाडौं आउनुपर्ने युवाको बाध्यतालाई अन्त्य गरिएको जनाएको छ । श्रममन्त्री गोकर्ण बिष्टले हाललाई २ वटा प्रदेशमा विस्तार गरेको श्रम स्वीकृतिको सेवालाई केही दिनभित्र सबै प्रदेशमा विस्तार गरिने बताए । “अब गरिब नेपालीका छोराछोरीले समय र पुँजी खर्च गरेर पुनः श्रम स्वीकृतिका लागि काठमाडौं आउने बाध्यता अन्त्य हुनेछ,” मन्त्री विष्टले कारोबारसँग भने, “आम युवालाई सरल र सहजतापुर्वक सेवा दिने सरकारी योजनाअन्तर्गत पूर्व श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गरिएको हो ।” अब वार्षिक औषत २ लाख ५० हजार नेपालीले आवेदन दिने पुनः श्रम स्वीकृति प्रणालीलाई प्रदेशस्तरमा विस्तार गरेसँगै कामदारको खर्चसमेत कम हुने छ । अघिल्लो आर्थिक वर्ष २ लाख ५९ हजार ३ सय ६६ र गत आवमा २ लाख ४८ हजार ५६ युवा पुनः श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
वैदेशिक रोजगारीमा जानेहरूको लागि जनकपुरबाटै कार्य सम्पदान हुन थालेपछि सेवाग्राहीहरू उत्साहित भएका छन् । समय र रकमको बचत हुँदा आर्थिक भारमा सुलभ र कार्यमा समेत सरल तथा सहजता भएको भन्दै पहिलो दिनको पहिलो सेवाग्राही धनुषाको बहुअर्वा गाउँ बस्ने एमडी जिलानीले बताए । संघीय सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेश नम्बर २ र ५ बाट श्रम स्वीकृति सेवा प्रदान गरेपछि स्थानिय युवा खुसी भएका हुन् । पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक विभाग उदयप्रसाद गुप्ताले पहिलो चरणमा श्रम कार्यालयबाट श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने जानकारी दिए । उनका अनुसार सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायतका कार्य यस कार्यालयबाट सम्पादन हुने छ । यस कार्यालयमा आवश्यकता भन्दा न्यून कर्मचारी रहेकोले विस्तारै कर्मचारीको संख्या पनि थप हुने उनले बताए । अहिले यस कार्यालयमा ७ जना कर्मचारी दरबन्दीमा छन् ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट बेहोर्नु परिरहेको थियो । वैदेशिक रोजगारका लागि काम गराउने विभिन्न संस्था तथा सेवाग्राहीहरू समेत बढी रकम खर्चेर दोब्बर मारबाट बचेको भन्दै काठमाण्डौँ धाउने परम्परा सधैँको लागि अन्त्य होस् भन्ने कामना टुर्स ट्राभल्स एजेन्सी सञ्चालक राहुल सिंहले गरे ।
मन्त्रालयले हालसम्म काठमाडौंस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति जारी गर्दै आएको थियो । मन्त्री विष्टले यसअघि सुर्खेतमा श्रम कार्यालयको उद्घाटन गरेको जनाउदै केही दिन भित्र यो सेवाका लागि पनि छुट्टै शाखा विस्तार गरेर सेवा दिने तयारी भएको बताए ।

 गोपाल संग्रौला- किरण कर्ण

प्रतिक्रिया दिनुहोस्