निर्माण सम्पन्न नहुँदै भत्कियो नाचघर «

निर्माण सम्पन्न नहुँदै भत्कियो नाचघर


जिल्लामा निर्माण हुन थालेको नाचघर निर्माण सम्पन्न नहँुदै भत्किएको छ । घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा निर्माणधीन अवस्थामा रहेको खुला नाचघर भत्किएको हो । लगातारको वर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणाधीन अवस्थामा रहेको नाचघरको संरचना भत्किएको हो ।


घोरदौरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत वर्ष सांस्कृतिक डबली (खुला नाचघर) निर्माण गरिएको थियो । नाचघर निर्माणका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा करिब एक करोड रुपैयाँ खर्च गरेको थियो । उक्त बजेटबाट बहुउद्देश्यीय योजनाअन्तर्गत भवन निर्माण, दर्शक बस्नका लागि सिँढी, शौचालयलगायतका संरचना निर्माण गरिएका थिए ।

लगातारको वर्षाका कारण भिरालो जमिनलाई सम्याएर बनाइएको सांस्कृतिक डबलीमा निर्माण गरिएको भवनको पश्चिमतिरको गाह्रो भत्किनुका साथै दर्शक बस्नका लागि निर्माण गरिएका पाँचवटा सिंँढी कामै नलाग्ने गरी चर्किएका छन् । त्यसैगरी शौचालयलगायतका अन्य संरचनासमेत काम नलाग्ने गरी चर्किएको स्थानीय बताउँछन् ।


नाचघर डिभिजन वन कार्यालय घोराहीमार्फत सत्यम् कन्स्ट्रक्सन प्रालिले गत वर्ष निर्माण गरेको थियो । गत वर्ष रकम अभावका कारण काम पूरा नभएको भन्दै प्रदेश सरकारले यसवर्ष नाचघरमा थप संरचना निर्माणका लागि ५८ लाख रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी सत्यम् कन्स्ट्रक्सन प्रालिले २८ प्रतिशत घटेर ४१ लाख रुपैयाँमा कामको सम्झौता गरेको थियो ।

त्यहीअनुसार कम्पनीले यसवर्ष पनि उक्त स्थानमा सार्वजनिक शौचालय, मञ्चको बाँकी रहेको काम पूरा गर्ने, मञ्चको दर्शकदिर्घामा अपांगता भएका व्यक्ति जानका लागि अपांगमैत्री बाटो, सिँढी निर्माण, ढुंगा बिच्छाउनेलगायत उक्त स्थानमा माटो भर्ने काम गरिरहेको अवस्थामा लगातार आएको वर्षाले केही संरचनामा क्षति प¥ुयाएको डिभिजन वन कार्यालय दाङका इन्जिनियर कृतिसिंह जिसीले जानकारी दिए ।

उनले निर्माणका क्रममा संरचना भत्किएकाले निर्माण व्यवसायीले नै संरचना बनाउनु पर्ने बताए । “निर्माण चरणमै संरचना भत्किाएले पुनः संरचना बनाउने काम कम्पनीले गर्नेछ,” इन्जिनियर जिसीले भने, “काम नगरे निर्माण कम्पनीले पैसा पाउँदैन ।” उनले निर्माण कम्पनीको लापरबाहीका कारण संरचनामा क्षति हुन पुगेको समेत बताए । करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचना एक वर्ष नपुग्दै भत्किएपछि अहिले सामाजिक सञ्जालमा चर्काे विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्