Logo

निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको प्रधानमन्त्रीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको बताए ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझीद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा १३ वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागेको बताए ।
उनले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताए । उनले भने, ‘आज पनि हामी देख्न सक्छौं, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, वीभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षीसँग मिलेर, विरोधीहरूसँग मिलेर, नेपालमा छरिएको, नेपालभरि फिजिँएको उज्यालोलाई निभाउने देशी, विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरू जुन छन्, तिनीहरूको मतियार भएर, तिनीहरूको सेवक भएर निर्लज्जतापूर्वक अहिले पनि आन्दोलनका विरुद्धमा लाग्ने तत्वहरू देखिएका छन् ।’
प्रधानमन्त्री ओलीले प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिकाबीच उचाइमा पु¥याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप पनि लगाए ।
अदालतको फैसला अगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको उनले बताए । नेता पतित भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत्त हुने पनि उहाँको भनाइ छ । उनले भने, ‘आज इमान छोड्नु, अहंकारी हुनु, अहंकारका पछि कुद्नु, म भन्ने भावना, यस भावनाबाट आक्रान्त बिमारी हुनु यो कुराले आज नेपालको यति माथि पु¥याइएको, यस्तो प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा यति माथि पुर्याइएको आन्दोलन, लगभग दुईतिहाइको स्थितिमा पुर्याइएको, एकीकृत बनाइएको आन्दोलन त्यसलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ । त्यसलाई फुटाइयो । अदालतलाई अब्जस लगाइयो ।
अदालतको फैसला अगाडी पार्टी फुटाइसक्या थियो । तर, अदालतलाई अब्जस लगाइयो । अहंकारमा कुदेर आन्दोलनलाई ध्वस्त पार्दिन्छु, समाप्त पार्दिन्छु, कब्जा गर्दिन्छु भन्दै प्रतिक्रियावादी शक्तिहरूका पाउँमा आन्दोलनलाई चढाउने । त्यसको लक्षण त हामीले हिजो मात्रै पनि देख्यौं । जुन दलसँग प्रतिस्पर्धा गरियो, त्यही दलको आफ्नो दलको सरकार गिराएर जो सँग प्रतिस्पर्धा गरियो र गर्नुछ फेरि पनि उही दलको नेतालाई प्रधानमन्त्री बनाएर ।
अनुशासन तोडेर पार्टी निर्णय गरिरहनुपर्दैन त्यस्ता कुरा ? यसै पनि यो बुझेको कुरा हो सामान्य कार्यकर्ताले बुझेको कुरामा नेताले बुझ्दैनन् भन्ने होईन । तर जब नेता बिक्छन् । जब नेता पतित हुन्छन् । तब आन्दोलनलाई सिध्याउन उद्यत्त हुन्छन् ।’
उनले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाए । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उनले भने, ‘जसले लोकतन्त्र मान्दैन उनीहरू, लोकतन्त्र आचरण र अभ्यास मान्दैनन् उनीहरू लोकतन्त्रका हिमायती भएर, मयुरका प्वाँख जोडेर मयुरको नक्कल पार्दै, स्वाङ पार्दै, आदर्शहीनहरूले आदर्शको नक्कली कुरा गर्दै देशलाई अराजकता, असभ्यतातिर लान खोजिराख्या छन् । भाषाको हिसाबले गालिगलौज, तथानाम, औपचारिक भाषामा । मैले आज प्रमुख प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कांग्रसमा रहेन । सभापतिको तहबाट । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा तिमी, उनी, यसो गरिन् । यस्तो भाषा बोलिएको छ । अथवा सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलिन घरानियाँ, जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तको आधारमा आएको कुनै नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलेर, निहुँरिएर,हात मुसारेर के के भाषा बोल्थे यिनै मान्छेहरू ।
आज जनताका छोराछोरी सम्मानित पदमा पुगेभने त्यो सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् । तपार्इं पनि भन्नु हुँदैन राष्ट्रप्रमुखलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरुलाई तँ, तिमी भन्नु बहादुरी ठान्छन् । नेपाली कांग्रेसको सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई र व्यापकता कहाँसम्म पुगेको छ भन्ने कुरा चाहिँ अचम्म लाग्यो ।’
प्रधानमन्त्री ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगत १५ वर्षदेखि मानिसहरूलाई गम्भीर प्रकारका आरोपहरू लगाइरहेको पनि बताए । दाहालले असभ्यताको र संस्कारहिनताको पराकाष्ठा देखाएको उहाँको आरोप छ । उनले भने, ‘अहिले पोलिटिकल्ली हेर्ने हो भने पुष्पकमल दाहालले मानिसहरूलाई बोलेका वचन, लगाएका आरोप, यी करिब करिब ६३ सालदेखि यि १५ वर्षका आरोप, गालि गलौजका भाषाहरू हेर्ने हो भने यति गम्भीर आरोपहरू लगाएको छ मान्छेहरूलाई असभ्यताको पराकाष्ठा देखिन्छ त्यहाँ । संस्कारहीनताको पराकाष्ठा देखिन्छ त्यहाँ । अब अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु मानेको हो, कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ ।’
प्रधानमन्त्री ओलीले नेपाली समाजलाई संस्कारयुक्त समाज बनाउनुपर्नेमा जोड दिए । पुस्तकको विमोचन गर्दै उनले आफ्नो जेल जीवनको स्मरणसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्