भूकम्पको ६ वर्षपछि दुर्गम गाउँमा ठडिए स्वास्थ्यचौकी भवन «

भूकम्पको ६ वर्षपछि दुर्गम गाउँमा ठडिए स्वास्थ्यचौकी भवन


विनासकारी भूकम्पले ढलेका स्वास्थ्यचौकी भवन अत्याधुनिक रूपमा ठडिन थालेका छन् । ६ वर्षअघि गएको भुकम्पले सबै भवन सहित स्वास्थ्यचौकी भवन पनि क्षतिग्रस्त हुँदा स्वास्थ्य सेवामा समेत असर गरेको थियो । बिहीबार दुर्गम गाउँको रुपमा चिनिने चंखु र खारेका २ वटा स्वास्थ्यचौकी भवन स्थानीयलाई हस्तान्तरण भयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरी स्थानीय तह हुँदै स्थानीय व्यवस्थापन समितिलाई अत्याधुनिक स्वास्थ्यचौकीको साँचो हस्तान्तरण भयो । खारे र चंखु जिल्लाकै दुर्गम गाउँका रूपमा चिनिन्छन् । पुनर्निर्माण प्राधिकरणले निर्माण गरेका स्वास्थ्यचौकी यो पहिलो चरणको हो । पहिलो चरण नै दुर्गम गाउँका पुनर्निर्माण हुँदा स्थानीयले अत्याधुनिक सेवा पाउने विश्वास व्यक्त गरे ।
पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्लास्थित आयोजना कार्यान्वयन एकाइ भवन कार्यालयले बिहीबार निर्माण सम्पन्न भएको १० कोठे भवन हस्तान्तरण गरेको हो । २ दिनअघि मात्र शैलुङ गाउँपालिकालाई साँचो बुझाएसँगै मंगलबारनै सो भवनको उद्घाटन गरिएको हो । स्वास्थ्यचौकी भवनको औपचारिक उद्घाटन भने शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले एक समारोहकाबिच गरेका थिए ।
२०७६ असार १५ बाट निर्माण सुरु भएको उक्त भवन निर्माणको जिम्मा ड्रयागन, शिवालय, अविसा जेभीले पाएको थियो । पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्लास्थित भवन कार्यालयका प्रमुख इन्जिनियर अर्जुन तामाङले २०७७ चैत मसान्त भित्रै निर्माण सम्पन्न भएकाले स्थानीय तहलाई हस्तान्तरण सहित उद्घाटन गरी प्रयोगमा ल्याइएको जानकारी दिए । यसअघि जस्ताको कटेरोमा कष्टपुर्ण ढंगले सेवा लिदै आएका स्थानीयबासिन्दालाई सुविधासम्पन्न र पक्की भवन निर्माण भएसँगै खुसी छाएको उनीहरूले बताएका छन् ।
शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले पक्की भवन निर्माण भएसँगै गाउँघरमा स्वास्थ्य सेवा प्रवाहका लागि निकै सहज भएको बताए । उनले भूकम्पले धनजनको क्षेती गराएपनि संरचना निर्माणमा निकै ठूलो अवसर सिर्जना गरेको बताए । अब सानातिना समस्या गाउँपालिकाले लगानी गर्ने बताए । भवन हस्तान्तरण कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि ध्रुव रिमालले कठिन परिस्थितिका बाबजुद पनि समयमा भवन निर्माण गर्न सकेकोमा खुसी व्यक्त गरे ।
प्राधिकरणको जिल्लास्थित आयोजना कार्यान्वयन इकाई भवनले गौरीशंकर गाउँपालिकाको २ वटा, शैलुङ गाउँपालिकाको एउटा, तामाकोसी गाउँपालिकाको ३ वटा र भीमेश्वर नगरपालिकाको एउटा स्वास्थ्यचौकी भवन २०७६ को असार मसान्तमा डेढ वर्षभित्र सम्पन्न गर्ने गरी ड्रागन÷शिवालय÷अभिसा जेभीसँग निर्माणको सम्झौता गरेको थियो । कोभीडका कारण भएको लामो समयको बन्दाबन्दीले काममा केही ढिलाइ भए तापनि समयमै पुनर्निर्माण सम्पन्न भएको भवन कार्यालयका प्रमुख इन्जिनियर तामाङले बताएका छन् । इन्जिनियर तामाङका अनुसार निर्माण सम्पन्न भएको भवन दुई तलाको छ । हरेक भवन निर्माण व्यवसायीले डेढ करोडमा पूरा भएको बताए ।
१० वटा कोठा रहेका भवनबाट स्थानीय स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवाहरू सहज ढंगले प्रवाह हुने छ । स्वास्थ्यचौकीमा ओपिडी, औषधी वितरण कक्ष, भण्डार कक्ष , मातृशिशु तथा परिवार नियोजन कक्ष लगाएत स्टोर र कर्मचारी आवास गृहसमेत भवनमा रहने छन् । पुनर्निर्माण प्राधिकरण आयोजना इकाइ मार्फत पहिलो चरणमा १२ वटा स्वास्थ्य चौकीको भवन निर्माण पूरा हुन लागेको छ भने भारतीय एक्जिम बैंकको लगानीमा १८ वटाको टेण्डर भएर निर्माण सुरु भएको छ । कतिपय ठाउँमा स्थानीय तहले पनि भवन निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्