साँखु–जोरपाटी सडक निर्माण

जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँ छोडी सडक निर्माण कार्य सुरु भएको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो । स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य सुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ । आयोजनाका इन्जिनियर बसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताए । तर पनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गार्इंले बताए । जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०÷७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । सडक खण्ड २२ मिटरको चौडा हुनेछ । जसमा दुई दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ । कुल ११.४६ किलोमिटर लम्बाइ रहेको चाबहिल–जोरपाटी–साँखु सडक खण्डमध्ये चाबहिलदेखि जोरपाटी बागमती पुलसम्मको सडक कालोपत्रे भइसकेको छ ।