Logo

तनहुँ जलविद्युत्को बाँध निर्माण गर्न पाँच वर्ष लाग्ने


तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत्् आयोजनाको नदी फर्काउने, बाँधलगायतको संरचना निर्माण पूरा गर्न करिब ६ वर्ष लाग्ने भएको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतको पहिलो प्याकेजका संरचना निर्माणका लागि भएको खरिद सम्झौताले अझै यति लामो समय लाग्ने देखिएको हो ।
पहिलो प्याकेजका निर्माण कार्यका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिनेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावरका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा–कालिका जेभीका तर्फबाट आधिकारिक प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् ।
कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक) मा खरिद सम्झौता भएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध–सञ्चालक थिकेले जानकारी दिए ।
आयोजनाको प्याकेज–१ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डी राभेना, इटालीसँग २०७५ असोज १५ गते सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात कम्पनीले २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु प्रभावग्राही हुन नसकेकाले एशियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप २०७६ फागुन १६ गते दोश्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।
कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको देशव्यापी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेश गर्ने म्याद थप गरिएको थियो । अन्ततः तीन वटा अन्तर्राष्ट्रिय बोलपत्र दाताहरुले बोलपत्र पेश गरेकोमा प्राविधिक बोलपत्रहरुको मूल्यांकनपश्चात दुई वटा बोलपत्रदाताहरुको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरुको मूल्यांकन पश्चात न्यूनतम मूल्यांकित सोङ्ग दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरीद सम्झौता गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत््गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्