सडक निर्माणमा त्रुटि नगर्न प्रमको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका छन् ।
आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका हुन् । जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन र यात्रुहरूको सुरक्षाको प्रत्याभूति हुनेगरी सडक निर्माण गर्न पनि निर्देशन दिए । उनले दुर्गम ठाउँमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडक कच्चा र असुरक्षित हुनु नहुनेतर्फ ध्यानाकर्षण गराए ।
उनले भने, “दुर्गम क्षेत्रलाई पनि पक्की बाटा, पक्की भन्नाले कालोपत्रे मात्र होइन । त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तातिर पक्की हुनुपर्छ । पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस् ।” सडक राम्रा, फराकिला, पक्की सडक र सुरक्षित सडक हुनुपर्दछ । यो चाहे स्थानीय तहले, प्रदेशले अथवा संघीय सरकारले जहाँसुकैबाट निर्माण भए पनि यी पक्षमा ध्यान दिनु पर्ने उनले बताए । “दुर्घटनाका कतिपय प्राविधिक कारण हुन्छन् । सडक निर्माणमा प्राविधिक त्रुटि रह्यो भने बढी दुर्घटना हुन्छ । त्यसकारण हाम्रा अहिलेसम्मका आफ्ना राष्ट्रिय अनुभव र अन्तर्राष्ट्रिय अनुभवलाई पनि लिएर हामीले दुर्घटनाका सम्भावना हुने खालका प्राविधिक त्रुटि पनि हुन नपाऊन् ।”
उनले थपे, “बाटामाथि हेर्दा कालोपत्रे छ तर राम्रो सुरक्षित छैन । बाटो आफै सुरक्षित छैन भने ती बाटाहरू दुर्घटनाका कारक हुन्छन् । मैले जोड दिइरहेको छु पटक पटक भनेको छु । जनताको ज्यानको रक्षा, जनताको जीवन रक्षा हाम्रा निम्ति सबैभन्दा बढी महत्वपूर्ण छ । जनताको जीवन सुरक्षित र सुखी होस् । त्यसका निम्ति हामी हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छौँ ।”
प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताए । सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उनको भनाइ छ । पक्की सडक निर्माणमा कालोपत्रे गरेर मात्रै नहुने भन्दै उनले कस्तो स्तरको सडक बन्दै छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । आइतबार प्रधानमन्त्री ओलीले दुई सय ८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरे ।