Logo

आर्थिक अभावले बूढासुब्बा गोल्डकप स्थगित

Football.

धरान-बूढासुब्बा गोल्डकपको २३ औं संस्करण यसपटक नहुने भएको छ ।
धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै २३ औं संस्करण आयोजना गर्न नसकिने जानकारी दिएको छ । २०५५ सालदेखि सुुरु भएको बूढासुब्बा गोल्डकप पहिलो पटक रोकिएको हो ।
क्लबका अध्यक्ष किशोर राईले आर्थिक अभावका कारण गोल्डकप गर्न नसकिएको बताए । प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाटै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउँदै आएको छ । कोरोना महामारीको असर गोल्डकपलाई पनि पुगेको अध्यक्ष राईले बताए । आयोजकले २२ औं संस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेको जनाएको छ ।
प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो । तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मस्र्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले बताए । गत वर्ष मनाङ मस्र्याङ्दीले बूढासुब्बा गोल्डकपको उपाधि जितेको थियो भने नेपाल पुलिस क्लब उपविजेता भएको थियो । दोस्रो पुरस्कारको राशि ५ लाख पनि नेपाल पुलिसले पाएको छैन । क्लबका अध्यक्ष राईले प्रदेश १ सरकारबाट १० लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख बजेट विनियोजन गरिए पनि हालसम्म उपलब्ध नहुँदा पुरस्कार राशि दिन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्