Logo

स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन नीतिगत रूपमै संरक्षण दिनुपर्छ

सरकारले नेपाली उत्पादनलाई बढावा दिन भन्दै २०७१ मा ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका’ ल्याएको थियो । एकातर्फ दिनप्रतिदिन आयातको परिमाण बढ्दै जानु र अर्कातर्फ निर्यातको दायरा फराकिलो बन्न नसक्दा देश आयातमुखी बन्दै गएको तथ्यांकबाट स्वाभाविक देख्न सकिन्थ्यो । आयातमुखी अर्थतन्त्र केही हदसम्म उचित मानिए पनि कालान्तरमा त्यसको प्रभाव नकारात्मक नै हुन्छ । यसै परिदृश्यलाई ध्यान दिँंदै सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रोत्साहन गर्ने निर्देशिका ल्याएको हो । बोलपत्रमार्फत गरिने खरिदमा १५ प्रतिशतसम्म महँगो हुँदा पनि स्वदेशी वस्तुलाई प्राथमिकता दिन सकिने प्रस्ट व्यवस्था छ । यसको अर्थ सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्वदेशी वस्तु खरिद गर्दा आयातित सामग्रीभन्दा १५ प्रतिशत महँगो मूल्य प्रस्ताव गरिएमा पनि स्वदेशी वस्तुको बोलपत्र स्वीकृत गर्न सक्छन् । पछिल्लो समय निजी क्षेत्रको संस्था नेपाल उद्योग परिसंघले पनि स्वदेशी वस्तुको उत्पादन, प्रयोग र निर्यातमा बढावा दिने उद्देश्यले ‘मेक इन नेपाल’ अभियान सुरु गरेको छ । परिसंघले हरेक वर्ष १ हजार उद्योग सञ्चालनको लक्ष्यसहित मेक इन नेपाल अभियान सुरु गरेको हो । यस अभियानअन्तर्गत कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने लक्ष्य मेक इन नेपाल अभियानको छ । हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.६ अर्ब डलर पु-याउनेलगायतका लक्ष्य राखिएको छ । स्वदेशी वस्तुको खपतमा बढाउन चाल्नुपर्ने कदम, नीतिगत व्यवस्था, समस्यागत सुल्झन र अबको पहलका सन्दर्भमा सरोकारवाला पक्षसँग कारोबारले गरेको कुराकानीको सार :

स्वदेशी वस्तुको खपत बढ्दा आयात प्रतिस्थापनमा टेवा पुग्छ
भवानी राणा
निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

स्वदेशी वस्तुको प्रयोग बढाउनका लागि म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदाकै बखत सरकारसँग पटकपटक छलफल भएको थियो । एकातर्फ नेपाली सम्भावनाहरूलाई अगाडि ल्याउन सकिने र अर्कातर्फ देशमै रोजगारी सिर्जना गर्न सकिने भएकाले स्वदेशी उत्पादन बढावा दिनुपर्छ भनेर महासंघले लबिङ बढाएको हो । व्यापारघाटा बढ्यो भनेर मात्रै हुँदैन, न्यूनीकरण गर्न सकिने आवश्यक पहलहरूमा ध्यान दिन पनि उत्तिकै जरुरी छ । त्यसमध्ये एउटा उत्तम उपाय भनेको सार्वजनिक निकायमा स्वदेशी सामग्रीको प्रयोग बढाउने र आयात प्रतिस्थापन गर्ने हो । व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउने मात्रै नभई आयात प्रतिस्थापन गर्न सक्नु पनि ठूलो उपलब्धि हो । त्यसैले सुरुवातमा ढिला गर्न हुँदैन भनेर नै महासंघबाट पहल गरिएको थियो । अहिलेसम्म पनि केही सरकारी निकायमा यदाकदा स्वदेशी वस्तुहरू प्रयोग भएको देखिन्छ, तर निर्देशिकाले गरेको व्यवस्थाबमोजिम भएको पाइँदैन । सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग हुन सक्ने जति अनिवार्य गर्ने र निजी क्षेत्रले प्रयोग बढाउन सक्ने अवसर छन् । निजी क्षेत्रले पनि स्वदेशी खपतलाई बढाउन सक्छ । कार्यालय सजावटदेखि उपहारमा स्वदेशी वस्तुको प्रयोग गर्न सकिन्छ । नेपालमै उत्पादन भएका सामग्री कार्यालयमा राख्न पाउनु गर्वको कुरा पनि हो । उपहारजन्य सामग्री उत्पादन गर्नमा महिला उद्यमीहरू भूमिका धेरै छ । हामीले स्वदेशी सामग्री खरिद गर्नु भनेको साना मझौला तथा महिला उद्यमीलाई अप्रत्यक्ष रूपमा सहयोग गर्नु हो । सरकारी तथा निजी क्षेत्र दुवैतर्फबाट स्वदेशी उत्पादनको खपत बढाउन पहल भयो भने व्यापार घाटा घटाउन निकै सहज हुने देखिन्छ । ब्राउन पेपर, पेन्सिल, डट्पेन, खाम, नोटबुक, डायरी, चक, बोर्ड मार्कर, फाइल पनि स्वदेशी नै खरिद गर्नुपर्नेछ । पोसाक, कोसेली र उपहार, गलैंचा तथा ऊनी कार्पेट, पटयार, फोम, अल्लो, केतुकी, केराको रेसालगायत प्राकृतिक स्रोत तथा स्थानीय कच्चा पदार्थहरूबाट निर्मित कपडाहरू पनि स्वदेशकै प्रयोग गर्न सकिन्छ । त्यसैगरी काठबाट निर्मित फर्निचर, डाइनिङ टेबल, प्लाइउड, बेत तथा बाँसका सामग्री, अम्रिसो तथा निगालोका सामग्री, कार्पेट, पर्दा, तौलिया, बेडसिट, तकिया, तन्ना, टेबुल म्याट, गमला, टिम्याट पनि स्वदेशी उत्पादन प्रयोग गर्न सकिन्छ ।
गत चैतदेखि कोभिडका कारण अहिले कुनै पनि ब्यापार मेला हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय रूपमा जाने नेपाली उत्पादन पनि यतिबेला गिरावट आएको छ भने स्वदेशमा पनि कुनै व्यापार मेला हुन सकेका छैनन् । व्यापार मेलाले पनि उत्पादन र उपभोक्तालाई जोड्न सहज बनाउँछ । स्वदेशी घरेलु उद्योगको संख्या धेरै भए पनि तिनीहरूको उत्पादन क्षमता धेरै कम छ भने अधिकांश उद्योग श्रममा आधारित छन् । स्वदेशी सामग्रीमा गुणस्तरका प्रश्नहरू उठ्ने गरेका छन् । त्यसको निराकरणका लागि नयाँ प्रविधि भिœयाएर भए पनि प्रतिस्पर्धी बन्नुपर्ने देखिन्छ । सरकारले कर लगाउँदा कच्चा पदार्थ आयात फाइनल गुड्सभन्दा दुई तहको फरक भएमा स्वदेशी उत्पादनलाई बढावा दिन सकिन्छ । अहिले फाइनल गड्स र कच्चा पदार्थ आयातमा एक तहको मात्रै फरक छ । नेपालमै उत्पादन पर्याप्त भइसकेको वस्तुलाई विदेशी वस्तुसँग प्रतिस्पर्धी बनाउन नीतिगत रूपमै संरक्षण दिनु जरुरी छ । आयातमै प्रतिबन्ध लगाउन डब्लूटीओदेखि अन्य अन्तर्राष्ट्रिय व्यवस्थाले दिंदैन, तर संरक्षणकारी व्यवस्थामा जान सकिन्छ ।

स्वदेशी सामान प्रयोग गर्ने नीति बन्यो तर कार्यान्वयन भएन
रीता सिंह
अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल

सरकारले स्वदेशी उत्पादनको खपत बढाउन नीतिगत व्यवस्था त ग-यो तर कार्यान्वयन भने हुन सकेन । नीति आउँदा हामी निकै हर्षित पनि थियौँ, किनकि देशमा भएका अवसरहरूलाई सरकारले चिन्न खोज्यो भन्ने लागेको थियो । कम्तीमा सरकारी निकायमा स्वदेशी सामग्री प्रयोग हुन्छ भन्ने विश्वास थियो तर कार्यान्वयनमा पछाडि परेकै हो । स्वदेशी उत्पादनमा महिलाले बनाएका सामग्रीहरू बढी छन् । महिला उद्यमी महासंघमा मात्रै ४ हजारभन्दा धेरै उद्योगी आबद्ध छन् भने त्योभन्दा बाहिर रहेर काम गर्ने महिलाको संख्या पनि धेरै छ । एउटा कोठाबाट नै किन नहोस्, काम सुरु गर्न चाहने महिलाको संख्या बढ्दै गएको छ । आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच महिलामा बढ्दै गएको छ । यो आत्मविश्वासलाई सरकारको नीतिगत व्यवस्थाबाट सम्बोधन गर्नुपर्छ । सरकारी निकायहरूमा स्वदेशी सामानको प्रयोग अनिवार्य गरियो भने त्यसबाट आमसर्वसाधारणले पनि सिक्ने थिए । राष्ट्रपतिज्यूले अफिसियल फोटोमा नेपाली ढाकाको सारी लगाउनुभएपछि ढाकाको सारीको माग धेरै आयो । त्यो ढाकाका सारी बनाउने म नै हुँ । राष्ट्राध्यक्षले नेपाली सामान प्रयोग गरिंदा त्यसको राम्रो सन्देश गयो । राष्ट्राध्यक्ष, प्रधानमन्त्री, विदेशी कूटनीतिक नियोगका अधिकारीले स्वदेशी पोसाक लगाउने, सम्भव भएसम्मका अन्य सामग्रीहरू प्रयोग गरेमा राम्रो सन्देश दिन सकिन्छ । जुन देशको उत्पादन र उत्पादित वस्तु बजारमुखी छ, उक्त देश नै आर्थिक रूपमा सम्पन्न हुन्छ । हामीले जन्मदा लगाउने न्यानो कपडादेखि मृत्युमा ओढाइने कोरो कपडासम्म विदेशी कम्पनीकै हुन्छ । यो अवस्थालाई परिवर्तन गर्नु जरुरी छ । देशमा स्थापित उद्योगधन्दाहरूको सञ्चालन र बिस्तार गरी थप केही कलकारखानाहरूको स्थापना मात्रै पनि गर्न सक्ने हो भने विदेसिने युवा जनशक्तिमा उल्लेख्य कमी हुने देखिन्छ । राजनीतिक मोलमोलाइ गरी युवाजमातलाई दल र तिनका नेताका चुनावी एजेन्डा प्रचारक र झन्डावाहक मात्र नबनाई अर्थोपार्जनका लागि अवसरहरूको सिर्जना र व्यवसायप्रति उत्प्रेरित तथा उत्साहित गर्न अति आवश्यक छ । स्वदेशी उत्पादनको प्रयोग बढाउन सबैमा स्वतःस्फूर्त मनबाटै आउनुपर्ने होे । स्वदेशमै उत्पादन भएको कपडा लगाउँदा मनमा छुट्टै आनन्द आउँछ । नेपाली सामग्रीको प्रचारप्रसार हुन नसक्दा हामी सम्भावना भए पनि त्यसको लाभबाट वञ्चित भएका छौँ ।

नेपालीले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ
हरिभक्त शर्मा
पूर्वअध्यक्ष
नेपाल उद्योग परिसंघ

नेपालका उद्योगहरूमा भएको लगानी, उद्योगको अवस्था, त्यसबाट सिर्जना हुने रोजगारी, उद्योगहरूले अर्थतन्त्रमा पु-याएको योगदानलाई लामो समयदेखि हामीले मनन गरिरहेका छौं । यसरी हेर्दा कहिल उद्योगले नेपालको अर्थतन्त्रमा वृद्धि भएको जस्तो फेरि घट्छ, क्रमिक रूपमा वृद्धि हुन सकेको छैन । मुलुकको आर्थिक विकासमा सो देशमा भएका उद्योगधन्दाको विकास एक तहसम्म वृद्धि भइरहनुपर्छ, तर यसो हुन नसकेको अवस्था छ । स्वदेशी अभियानअन्तर्गत नेपालमा राष्ट्रिय जागरण विकास होस्, नेपाली उत्पादनहरू गुणस्तरीय भएर स्वदेश तथा विदेशमा उपभोग होस्, यसरी गुणस्तर कायम गरेका उद्योगहरूले हामीले हालै प्रस्ताव गरेको ‘लोगो’को प्रयोगमार्फत नेपालको गुणस्तर सुनिश्चत गर्दै हामीले पनि प्रयोग गर्न सकियोस् । यसरी स्वदेशमा नै उपभोग गर्न सकेको खण्डमा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न सहज हुन्छ । उत्पादन भएका सामान स्वदेश र विदेशका लागि उत्पादन गर्नुपर्ला । सो लोगोमार्फत राष्ट्रिय भावना जागरित विकास गरेर स्वदेशी उत्पादनको भावनात्मक सम्बन्ध स्थापित गर्नका लागि हामीले यो अभियान चलाएका हौं । साथै नेपालभित्र भएका उद्योगहरूको स्थापनाको संख्या वृद्धि गर्न सकियो, पछिल्लो समयलाई हेर्दा उद्योग दर्ता नै हुँदैन, भए पनि सञ्चालनमा नआएको अवस्था छ । यसकारण वर्षमा केही उद्योगलाई दर्ता गरेर सञ्चालनमा ल्याउन सकियोस् । यसले उद्योग क्षेत्रमा करिब साढे १ लाखलाई रोजगारी दिन सकिने देखिन्छ । वार्षिक ५ लाख युवा रोजगारीका लागि श्रमबजारमा आउने गरेको तथ्यांक छ । यसरी प्रत्येक वर्ष साढे १ लाखलाई उद्योगमा रोजगारी अवसर दिन सकियोस् र प्रत्येक १ हजार उद्योग दर्ता गरी सञ्चालनमा ल्याउन सकियोस् । जसका लागि प्रविधिमार्फत सहजीकरण गर्न सकियोस् । यसअघिको समय हामीले प्रभावकारी उपयोग गर्न सकेनौं, सो विश्वभर नै कोभिड–१९ पछि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरेर स्वदेशका उत्पादनबाट नै आत्मनिर्भर बन्ने लहर चलेको छ । सोहीअनुसार अन्य देशका सरकारले पनि स्वदेशी उद्योगहरूलाई उत्पादनमा जोड दिन र उद्योग विकासमा सहजीकरण गरिरहेका छन् । यही समयमा हामी अलिकति पनि दिग्भ्रमित नभई स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आफ्नो क्षेत्रबाट लागौं भनेर सबै पक्षलाई हाम्रो सुझाव हो र यसका लागि सबै नेपाली र विशेषतः नेपाल सरकारले यसको अभिभावकत्व लिएर मेक इन नेपाल अभियानलाई अगाडि बढाउने काम गर्नुपर्छ । यसमा निजी क्षेत्र, सरकार मात्र नभएर हरेक नेपालीले म यो अभियानमा सहभागी छु, मैले उपभोग गरेको सामग्रीले नेपाली युवाले काम पाएका छन्, साथै मैले यो देशको अर्थतन्त्रमा योग्दान पु-याएको छु भन्ने भावनाको विकास गर्न नसकेको कारणले गर्दा स्वदेशमा नै उत्पादन भएका सामग्रीको प्रयोग बढाउन नसकेको जस्तो लाग्छ । यहीअनुरूप मेक इन नेपाल अभियानको अवधारण विकास गरिएको हो । स्वदेशमा उत्पादनको उपभोग नगर्नाले पनि औद्योगीकरणको सुरुवात गरेर पनि उद्योगलाई दिगो बनाउन चुकेका छौं ।
सबैभन्दा ठूलो उपभोक्ता भनेको सरकार हो । त्यसैले सरकारले स्वदेशमा बनेका सामग्रीको प्रयोग गर्न, तिनीहरूको प्रयोगलाई प्राथमिकता दिने गरी व्यावहारिक रूपमा नै कार्यान्वयनमा लानुपर्छ । सरकार, स्वदेशी उपभोक्ताले प्रयोग गरेपछि गुणस्तरमा सुधार गर्दै अन्तर्राष्ट्रिय बजारका लागि सामग्री उत्पादन गरेर निर्यात गर्नुपर्छ । यसो भएको खण्डमा हाल नेपालको आयात निर्यातको अन्तर कम गरी व्यापार घाटा कम गर्न सकिन्छ । यसो हुँदा रोजगारीका लागि विदेशी भूमिमा गएर कमाएको विदेशी मुद्रा पनि बाह्य समान खपतका लागि आयात गरेर सो मुद्रा बाहिर गएको छ । यसलाई पनि स्वदेशमा नै बचत गर्न सकिन्छ । देशभित्र रोजगारीको सिर्जना हुनेबित्तिकै विज्ञान प्रविधिको विकासमा सहयोग पुग्छ । यसरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न हामी लागिपरेका हौं । स्वदेशी उत्पादनमा गर्व गरेर नेपाली उत्पादनको प्रयोगमा बढावा दिनुपर्छ । यसका लागि उद्योगहरूले पनि गुणस्तरीय उत्पादन सुनिश्चित गर्नुपर्छ । हामी सबैले यो मेक इन नेपाल अभियानमा सरिक भएमा देशको अर्थतन्त्रमा ठूलो योगदान पु-याउनेछ ।

प्रतिक्रिया दिनुहोस्