अव्यवस्थित सडकले बस्ती जोखिममा «

अव्यवस्थित सडकले बस्ती जोखिममा

जुम्ला-तातोपानी–२ का रणवीर बूढा रातमा चयनले सुत्दैनन् । मनमा डरैडर र त्रासले उनको परिवार कति बेला के हुन्छ भनेर जागै बस्छन् । पहिले खेतीपाती गर्दै आएको घरमाथिको खेतबाट स्थानीय सरकारले सडक निर्माण गरेको छ । त्यही सडकका कारण रणवीरको परिवार त्रासमा छ ।
“राति बेला–बेला ठूला ढुंगा बज्रिन्छन् ।” उनले भने, “घरको भित्तामा ढुंगा बजारिँदा निद्रा हराउँछ अनि रातभर जागा बस्छौं ।” साउन–भदौ वर्षामा घरआँगनबाटै बाढी आयो, नियन्त्रण गर्न गाह्रो भयो, अहिले बेला–बेला ढुंगा आउँछ, सुक्खा पहिरोको डर उत्तिकै छ उनलाई । अब हिउँद लागेपछि हिउँ पर्दा झनै जोखिम बढ्ने डरले अन्त कसैको घरमा बस्ने तयारीमा छन् ।
रणवीर बूढाको परिवार त एक पात्रमात्रै हो । स्थानीय तहले निर्माण गरेको अव्यवस्थित सडकका कारण जर्मी गाउँको एक बस्ती जोखिममा छ । तातोपानी गाउँपालिका–२ को जर्मी गाउँमा खनिएको सडक अव्यस्थित हुँदा झन्डै १२ घर जोखिममा छन् । बस्तीमाथि सडक र तल बस्ती भएकाले जति बेला पनि ढुंगा–माटो खस्ने डरत्रासमा छन् स्थानीय । डोजरले जथाभावी फालेको ढुंगा–माटो खसेर आउने गरेका छन् । सुरक्षा चुनौती भएपछि स्थानीयले तटबन्ध लगाउन स्थानीय सरकारलाई माग गरेका छन् ।
सडक खन्दा एकचोटि नसोधी, त्यसले पार्ने असरका विषयमा कुनै अध्ययन नगरी, हचुवाका भरमा सडक निर्माण गरेपछि बस्ती सुक्खा पहिरो तथा ढुंगामाटोको उच्च जोखिममा छ गाउँ । झन्डै एक दर्जनभन्दा बढी घर अव्यवस्थित सडकको जोखिममा छन् । भिरालो पाखोमा रहेका घरमा खनिएको सडकले विकासभन्दा विनाश निम्त्याएको स्थानीय नरबहादुर बूढाले बताए । उनले भने, “सडक खन्दा एकपटक हामीलाई सोधिएन, जथाभावी सडक खनेर डोजरले ढुंगामाटो फालेपछि घरको पर्खाल भत्किने अवस्था थियो । गएको साउनमा रातभरि नसुतेरै बस्यौ, आँगन अगाडिबाटै पहिरो गयो, ढुंगामाटो आउँदा घर नै बगाउने चिन्ताले सताएपछि रातभर परिवार विचल्लीमा परेको उनको गुनासो छ । वर्षामा पटक–पटक घर जोखिममा परे, तटबन्धको व्यवस्था गर्न गाउँपालिकामा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको अर्का स्थानीय कृष्ण डाँगीले बताए ।
सडक निर्माणपश्चात् वर्षा हुँदा बगेर आएको माटोले घरै भरियो, आँगन भरियो, न रातमा निद न दिनमा भोक, घर बचाउन वडादेखि गाउँपालिकामा धाउँदा कुनै सुनुवाइ नभएको उनको भनाइ छ । हिजोआज बेला–बेला ठूला–ठूला ढुंगा आएर घरको भित्तामा बजारिने गरेका छन् । जग्गाको मुआब्जा त परै जाओस्, भैपरी आउने विपद्बाट बच्नका लागि राहत माग्दा नपाएको गुनासो गरेका छन् भने उक्त बस्तीका स्थानीयलाई नसोधी झन्डै २० रोपनी सिमी, कोदो लगाउने खेतहरू मासेर सडक निर्माण गरिएको छ । यता सडक निर्माण समितिका अध्यक्ष नरेन्द्र बूढाका अनुसार, ४० लाखको लागतमा सडक निर्माण गरिएको छ । उनले भने, “सामाजिक विकासका लागि जोसुकैले जग्गाा दिने निर्णयअनुसार सडक निर्माण गरिएको हो ।”
कर्णाली राजमार्गबाट जोडेर २ नम्बर वडाको वनमा पु¥याउने सडक अहिले अधुरै छ । ४० लाखमा झन्डै ६÷७ किलोमिटर मात्रै निर्माण भएको छ भने कुनै अध्ययनबिना सडक निर्माण गरिएको भन्दै आलोचना पनि भइरहेको छ । अहिले निर्माण अलपत्र सडक कहिले निश्चित बिन्दुमा पुगेर गाडी चल्ने, स्याउ सिमी सहजै ल्याउने कुनै आशा नभएको जर्मी गाउँवासीको भनाइ छ ।
झन्डै १ सय ५० घरधुरी संख्या रहेको गाउँमा बिनाआवश्यकता सडक खनिएको छ । बस्तीलाई जोखिममा पारेर सडक निर्माण गर्नु, तटबन्ध बनाउन नमान्नु स्थानीय सरकारले सर्वसाधारण माथि दमन गर्न खोजेको समेत टिप्पणी भइरहेका छन्, तर गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले सडकका कारण बस्ती जोखिममा भए तटबन्ध निर्माण गरिने बताइन् ।
अनुगमन गरी आवश्यकताका आधारमा तट लगाउने र सडकलाई निश्चित बिन्दुमा पु¥याउने दाबी उनले गरिन् । क्रमागत रूपमा बजेट छुट्याएर सडक सञ्जालमा गाउँलाई जोड्ने अभियान सफल पार्ने उनको भनाइ छ । जोखिममा रहेका एक दर्जनभन्दा बढी घरको सुरक्षाका लागि पूर्वाधार निर्माण गर्न स्थानीय सरकार तयार रहेको उनले बताइन् । यता, स्थानीयले छिटो तटबन्ध लगाउन अनुरोध गरेका छन् । अब हिउँदमा हिउँ परेपछि झनै जेखिम बढ्ने भन्दै तटबन्ध निमार्णमा ढिलाइ नगर्न उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्