सीमा क्षेत्रमा धमाधम बीओपी

पाँचथरका र भारतसँग सीमाना जोडिएका विभिन्न स्थानमा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । चारवटा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने तयारी रहेकोमा ३ वटा स्थापना भइसकेको छ । अब एउटा केही दिनपछि स्थापना गरिने तयारी भएको शसस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हेडक्वार्टर हिमशिखर पाँचथरका प्रमुख डिएसपि किशोरकुमार श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको २०७६ मङ्सिर २९ को निर्णयअनुसार पाँचथरका चारमध्ये तीन स्थानमा बीओपी स्थापना भएको हो ।
याङवरक गाउँपालिकामा पर्ने मध्यपहाडी लोकमार्गको उद्गम स्थल संकेत रहेको चिवा भञ्जाङमा सीमाक्षेत्र नजिक बीओपी स्थापना भएको छ भने अन्य स्थानमा सीमा क्षेत्रबाट केहि टाढा बीओपी स्थापना गरिएको छ । तोरिफुलेमा स्थापना गरिनुपर्ने बीओपी भौगोलिक विकटता र अन्य संरचना नहुँदा याङवरकै सुखेढापमा स्थापना गरिएको छ । सुखेढापमा रहेको सामुदायिक भवनमा अस्थायी बीओपी राखिएको छ । तोरिफुलेमा संरचना बनेपछि स्थायी रुपमा तोरिफुलेमै बीओपी राखिने डिएसपि श्रेष्ठले जानकारी दिए । अब फालोट क्षेत्रको लागि केहि दिनमा चारराते भन्ने स्थानमा बीओपी राखिनेछ । फालेलुङ गाउँपालिकामा रहेको भैसेमा यसअघि नै बीओपी स्थापना भएको छ ।
भौगोलिक रुपमा विकट रहेका सीमा क्षेत्रमा यसअघि सुरक्षा उपस्थिति शून्यप्रायः रहेको थियो । सुरक्षा उपस्थिति नहुँदा खुला सिमानाका कारण हुने अपराध, सीमा रक्षा तथा चोरी निकासी सम्बन्धमा लामो समयदेखि चिन्ता भइरहेका बेला पाँचथरका तीन स्थानमा बिओपी स्थापना गरिएको छ ।
पाँचथरबाट करिब ४५ किलोमिटर सीमा क्षेत्र भारतसँग सीमा जोडिएको छ । सन्दकपुरबाट तिम्बुपोखरीसम्म भारतका सिक्किम र पश्चिम बंगालसँग नेपालको सीमाक्षेत्र रहेको छ । सदरमुकाम फिदिमबाट टाढा र भैगौलिक रुपमा पनि विकट रहेको सीमा क्षेत्रमा यसअघि सरकारको उपस्थिति शून्य रहेको थियो । यसअघि यहाँ सरकारको कुनै संयन्त्रको उपस्थिति रहेको थिएन । ४५ किलोमिटर लामो सीमा क्षेत्रमा भारतले आफ्नो भूमिलाई राम्रोसँग सुरक्षित गरेको छ । उसले प्रत्येक ६ किलोमिटरमा सीमा सुरक्षाबल राखेको छ ।
४५ किलोमिटर सीमाक्षेत्र हेर्दा विरक्तलाग्दो देखिन्छ । भारततर्फ सिक्किममा कञ्चजंघा नेसनल पार्क र वेस्ट–बंगालमा सिंहलीला नेसनल पार्कको रूपमा संरक्षित छ । सीमाक्षेत्रमा भारतीय वन कार्यालय पर्याप्त भेटिन्छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई वर्षअघि तीन चरणमा सीमा क्षेत्रको अवलोकन गर्दा १६ सीमास्तम्भ हराएको पाएको थियो । अवलोकन गर्दा एक सय १३ मध्ये ९७ वटामात्र सीमास्तम्भ पाइएको तथ्य सार्वजनिक भएको थियो । हराएका १६ सीमा स्तम्भमध्ये चारवटाको मात्र डोब भेटिएको छ । बाँकी १२ वटाको नाम–निसान केही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ । सोे क्षेत्रमा ठाउँठाउँमा सीमास्तम्भहरू भत्किएको भेटिन्छन् ।
बीओपी स्थापना भएपछि खुल्ला सीमानाका कारण हुने अपराध, सीमा रक्षा तथा चोरी निकासी रोकिने सरोकारवालाहरुले बताएका छन् । बिओपीमा सईको कमाण्डमा १९ जना शसस्त्र प्रहरी खटिएका छन् ।