मोटरसाइकल र स्कुटरको माग बढ्यो «

मोटरसाइकल र स्कुटरको माग बढ्यो

पोखरा-कोरोना भाइरसको महामारी बढेसँगै बजारमा स्कुटर र मोटरसाइकलको माग ह्वात्तै बढेको छ । सार्वजनिक सवारी साधनमा चढ्दा कोरोना संक्रमण बढ्ने आशंकामा व्यक्तिगत सुरक्षाका लागि पनि सानो सवारी साधन स्कुटर र मोटरसाइकलको बजारमा माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।
कोरोना भाइरसबाट करिब ६ महिना व्यवसाय प्रभावित भएको अवस्थामा असोज महिनादेखि उपभोक्ताहरुले सानो सवारी साधन स्कुटर र मोटरसाइकल बढी खरिद गर्न आएकाले हाल माग अनुसार कुनै पनि कम्पनीहरुले उपलब्ध गराउन सकेका छैनन् । पश्चिमाञ्चल अटो मोवाइल डिलर्स एशोसियसनका अध्यक्ष चन्द्र कुँवरले बजारमा माग अनुसार कुनै पनि कम्पनीले स्कुटर र मोटरसाइकल उपलब्ध गराउन नसकेको बताए । कुँवर ब्रर्दश एण्ड सन्स प्रालिका सञ्चालक समेत रहेका अध्यक्ष कुँवरले कोरोनाको कारणले पनि बजारमा स्कुटरको माग अत्याधिक भएको दाबी गरे । हाल आफूहरुसँग ४ सय ५० वटा होण्डाका स्कुटरको बुकिङ भए पनि दैनिक जसो १५÷२० वटा मात्र आउने गरेको उनले बताए । दसैंको अवसरमा होण्डाको स्कुटर र मोटरसाइकल खरिदमा ४ हजारदेखि एक लाखसम्मको स्क्राचकार्ड उपलब्ध गराइएको कुँवरले जनाए ।
त्यसैगरी बजाज कम्पिनीका मोटरसाइकल निकै अभाव भएको इच्छाशक्ति अटो मोवाइल्स कम्पनीका सञ्चालक इच्छामान बुद्धचार्यले बताए । कोरोनाको कारण असोजदेखि अटो व्यवसाय फस्टाउँदै आएपनि माग अनुसारका मोटरसाइकल उपलब्ध गराउन नसकेको उनले बताए । बजाजका ४ वटा ब्राण्ड मध्ये १ लाख ७२ हजारदेखि ५ लाख ४९ हजार रुपैयाँबराबरका विभिन्न मोटरसाइकल बजारमा उपलब्ध गराएको बुद्धचार्यले जनाए । पल्सर एलएक्स, पल्सर टु ट्वान्टी एबीएस बजारमा बढी माग भएको उनले जनाए । दसंैको अवसरमा मोटसाइकल खरिदमा १० हजारसम्म छुटको व्यवस्था गरिएको बुद्धचार्यले बताए ।
त्यस्तै गरी टिभीएस कम्पनीका हाल दैनिक दुई सय वटा स्कुटर र मोटरसाइकल बजारमा माग भए पनि करिब ५० प्रतिशत मात्र माग पूरा गर्न सफल भएको बतास ब्रर्दश अन्र्तगत टिभीएस डिपार्टका प्रबन्धक सन्तोस पोखरेलले बताए । कोरोनाले गर्दा सार्वजनिक सवारीको कम प्रयोग भएकोले स्कुटर तथा मोटरसाइकलको माग बजारमा बढेको उनले बताए । कम्पनीका ४ वटा मोडल स्कुटर र ६ मोडलका मोटरसाइकल भएपनि बजारमा १२५ सीसीको प्रिमियम स्कुटरको माग बढी भएको प्रबन्धक पोखरेलले जनाए । कोरोनाले गर्दा अघिल्ला वर्षको तुलनामा यस वर्ष यामाहा कम्पनीका स्कुटर र मोटरसाइकल खरिद बिक्री कम भएको भिएडब्लु इन्टरप्राइजेज प्रालिका सञ्चालक सरोज श्रेष्ठले बताए । कोरोनाले गर्दा रासन पछि अटोतर्फ सानो सवारी साधन स्कुटर र मोटरसाइकलको कारोबार भएको उनले बताए । कम्पनीका १२ वटा मोडलहरु मध्ये दसैंको अवसरमा कुनै सवारी खरिदमा ६ हजारदेखि ८ हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस्