१ वर्षमा १ सय किमि सडक निर्माण «

१ वर्षमा १ सय किमि सडक निर्माण

कञ्चनपुर-स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकामा एक सय किलोमिटर सडक निर्माण गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाका सबै वडामा सडक निर्माण गरिएको छ । केही वडामा नयाँ सडक निर्माण गरिएको छ । गत आर्थिक वर्षमा चुरे फेदमा रौटेलादेखि ब्रह्मदेवसम्म जैविकमार्ग निर्माण गरिएको छ । १२ किलोमिटर लम्बाइको जैविकमार्ग १८ देखि २२ मिटर चौडा छ ।
भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीयलाई आवतजावत सुविधा र नगर क्षेत्रलाई चक्रपथबाट जोड्ने लक्ष्यका साथ गत वर्ष जैविकमार्ग निर्माण गरेका हुन् । जैविकमार्गमा ट्रयाक खोलेर ग्राभेलिंग गरिएको छ । जैविकमार्ग, चक्रपथसहित सबै वडामा सडक निर्माण गरिएको नगर प्रमुख विष्टले बताए । “नगर क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौं, गत वर्ष जैविकमार्ग सहित सबै वडामा सडक निर्माणका कार्य गरिएका छन्,” नगर प्रमुख विष्टले भने, “यस वर्ष पनि सडक निर्माणलाई प्राथमिकता दिएर अघि बढाएका छौँ ।”
भीमदत्तलाई समृद्ध नगर बनाउने लक्ष्यअनुसार पूर्वाधार निर्माणकार्यलाई प्राथमिकता दिएको नगर प्रमुख विष्टले बताए । भीमदत्त नगरपालिकाको वार्षिक प्रगति समीक्षा प्रतिवेदनमा नयाँ र पुरानो गरी एक सय किलोमिटर सडक निर्माण गरिएको उल्लेख गरिएको छ । यसबाहेक ८५ किलोमिटर सडकमा ग्राभेल र २२ किलोमिटर सडक कालोपत्रे गरिएको समीक्षा प्रतिवेदनमा छ ।
गत वर्ष नगर क्षेत्रमा ४२ वटा कल्भर्ट निर्माण गरिएका छन् । भीमदत्त नगरपालिकामा यातायात पूर्वाधार विकासका लागि नगर यातायात गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजना अनुसार सडकको नामकरण, स्तरोन्नति, कालोपत्रेलगायतका कार्य गरिने छन् । भीनपामा कालोपत्रे सडक नभएको वडा नं. १९ का चार टोलमा गत वर्ष सडक कालोपत्रे गरिएको छ । अन्य वडा यसअघि कालोपत्रे सडकबाट जोडिएका थिए । वडा नं. १९ बाहेक अन्य वडाका थप सडक कालोपत्रे गरिएको छ । केही वडामा नयाँ सडकको ट्रयाक खोलेर ग्राभेलिंग गरिएको छ ।
भीनपाको दुर्गम बस्ती खल्ला मुसेट्टीसम्म गत वर्ष सडक निर्माण गरिएको थियो । स्थानीय तह निर्वाचनअघि साइकल चलाउन नसकिने सडकमा अहिले यात्रुबाहक बस सञ्चालन गरिएको छ । स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टले खल्ला मुसेट्टीमा सडक निर्माण गरी गाडी पु-याउने प्रतिबद्धता गरेका थिए । भीनपाको उत्तरमा जैविक मार्गसँगै दक्षिणी क्षेत्रमा झोलुंगे पुलदेखि वडा नं. १९ बागफाँटासम्म शुक्लाफाँटा पर्यटन मार्ग निर्माण सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार निर्माण सुरु गरिएको सडकको विभिन्न वडामा ट्रयाक खोलिएको छ ।
भीनपा वडा नं. १५ का अध्यक्ष भीमबहादुर शाहुले वडा नं. १५ सहित वडा नं. १८ लगायतका वडामा ट्रयाक खोलिएको जानकारी दिए । चालू आर्थिक वर्षमा जैविक र पर्यटन मार्गलाई उच्च प्राथमिकता दिँदै सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ । सघन सहरी विकास कार्यक्रमअन्र्तगत ढलसहितका ढेड दर्जन सडकको निर्माण कार्यअघि बढेको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत नगर क्षेत्रमा ३६ किलोमिटर सडक कालोपत्रेका लागि सर्भे गरिएको छ । चालू आवमा मझगाउँ एयरपोर्ट किनारको सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्