पुनर्निर्माणको पर्खाइमा जाजरकोट दरबार

जाजरकोट-इतिहास बोकेको जाजरकोट दरबार जीर्ण बन्दै गएको छ । वि.सं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दिनानुदिन जीर्ण बन्दै गएको छ । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र ऐतिहासिक महत्वका दृष्टिकोणले निकै आकर्षक मानिन्छ ।
हरि शाहले भक्तपुरका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए । तर अहिले स्थानीय तह र सरकारी बेवास्ताका कारण दरबार जीर्ण बन्दै गएको छ । नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रूपमा रहेका जाजरकोट राज्यका राजाको दरबार पुरातत्व विभागमा दर्ता भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाको गुनासो छ ।
दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृष्य, अनि उत्तरतिर कुसे पाटनको मनोरम दृष्यमात्र होइन पूर्वतिर सिस्ने हिमाल, होलु जिउला अनि वरिपरि हरिया पहाडको बीचमा रहेको खलंगाको पिपलडाँडास्थित टाकुरोमा रहेको जाजरकोट दरबार प्राकृतिक सुन्दरताको बीचमा कुरुप बन्दै गएको छ । प्रत्येक वर्ष दसैंको महानवमीका दिन दरबार र जाजरकोट राज्यको ऐतिहासिकता एवं सांस्कृतिक महत्व झल्काउने रांगो बलि दिने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ ।
पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्गको पूजा गर्न ९ रांगा ९ बोकाको बलि दिने चलन पनि हराउँदै गएको छ । सुरुमा ७ तले यो दरबार १९९० सालको भूकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरबारको भव्य महल, बीचमा रानीहरूले नुहाउने तलाउको अहिले नाम निसान नै छैन । दरबार प्रवशेद्वारको अगाडि रहेका दुईवटा सिंहले अगाडिका दुई खुट्टा उचालेर आक्रोश व्यक्त गरेको तस्बिर झल्किने कलात्मक गेट पनि २०३५ सालमा भत्किसकेको छ । सरकारले २०१७ सालमा राजा रजौटाहरू उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण, ऐतिहासिक वस्तुसँगै जाजरकोटको इतिहास र संस्कृति हराएको राजेन्द्रविक्रम शाहको भनाइ छ ।
विगतमा दरबारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीनवटा अतिप्राचीन मूर्तिहरू मध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो भने अन्य दुई वटामात्र रानागाउँको कालिका मन्दिर र पिपलडाँडाको गणेश मन्दिरमा सुरक्षित रहेको उनले बताए ।
शाहका अनुसार हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोटमा वि.सं १९१४ मा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले आक्रमण गरी जितेका छालाको तोप र केही हतियार राष्ट्रिय संग्राहलय छाउनीमा रहेको छ । अन्य ६ सय थान बन्दुक राजाका सन्तानले नै बेपत्ता पारेको उनको भनाइ छ । १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसँग मितेरी साइनो लगाउँदै गरेको धर्मसन्धिका बेला पाएका केही उपहार र दस्तावेजहरू अहिले भेटाउन गाह्रो भएको शाहको भनाइ छ ।
पृथ्वीनारायण शाहले शक्तिको प्रतीकको रूपमा दिएको खड्ग अर्थात् तरबारमात्र अहिले जगतिपुरस्थित मन्दिरमा खर्के देउताको रूपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताए ।
जाजरकोट दरबार पुनर्निर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टिमेट तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । भवन डिभिजन कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरी बनाएको डिजाइन तथा आर्थिक योजनासहितको पुनर्निर्माण योजना गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पुगी रोकिएको छ ।
नेपाल २२ र २४ से राज्यमा विभाजित भएका बेला २२ से राज्यअन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनी वर्मा हुन् । उनले वि.सं १४५५ मा जाजरकोट राज्य स्थापना गरेका थिए । उनी पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलंगाको पिपलडाँडामा नै उनका नाति पर्ने हरि शाहले उक्त दरबार निर्माण गरे । हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँककमा बिक्री गरेका थिए ।
–सन्जय केसी