गुप्सीपाखा एकीकृत बस्ती बन्न अझै १ वर्ष लाग्ने «

गुप्सीपाखा एकीकृत बस्ती बन्न अझै १ वर्ष लाग्ने

गोरखा-गैरआवासीय नेपाली संघ एनआरएनएले गोरखा लाप्राकका भूकम्पपीडितलाई नयाँ घरमा सार्ने मिति फेरि सरेको छ । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्ती हस्तान्तरणको मिति सारिएको हो ।
२०७३ असोज २१ गते बस्ती शिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले १ वर्षभित्र लाप्राकवासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गरेका थिए । तर २०७४ असोजसम्म काम नसकेपछि एक वर्षको समय थपिएको थियो । अहिले पनि निर्माणकार्य पूरा भएको छैन । त्यसैले २०७६ वैशाखसम्ममा लाप्राकीलाई नयाँ घरमा सार्ने योजना रहेको एनआरएन अन्तर्गतका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका कारण समयमै पुनर्निर्माण गर्न नसकिएको उनले बताए । “वर्षायाममा बाटोमा गाडी नचल्दा बजारबाट सामान ल्याउन सकिएन,” उनले भने, “स्टक सामान पनि सकियो, थप सामान नभएपछि काम समयमा पूरा गर्न सकिएन, यहाँको मौसम पनि त्यस्तै छ, सधै काम गर्न नमिल्दो रहेछ ।” गोरखा बारपाक सडक खण्डअन्तर्गत राङरुङको पहिरो नेपाली सेनाले हटाएकाले अब सामान ढुवानी गरेर निर्माणकार्यलाई तीव्रता दिने उनले जानकारी दिए । हालसम्म ७८ घरको छाना छाउने काम सकिएको छ । साइट म्यानेजर अर्यालले भने, “अहिलेसम्म हामीले ५७३ सबै घरको डीपीसी सकिसकेका छौं । २३३ घरमा ट्रस पनि हालिसकियो, ४९० घरको झ्यालमुनिसम्म इँट्टा लगाउने काम भइसक्यो ।” १६ वटा क्लस्टर बनाएर काम भइरहेको अर्यालले बताए ।
गुप्सीपाखामा अहिले १५४ नेपाली सेना र एनआरएन अन्तर्गत ५ प्राविधिकसहित १९० जना बस्ती निर्माणमा खटिएका छन् । एक घरका लागि १५.१ घनमिटर ढुंगा र १.२९ घनमिटर गिटी स्थानीयले उपलब्ध गराएका छन् । आवश्यक काठका लागि गाउँपालिकासँग समन्वय भएको अर्यालले जानकारी दिए । गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजनाअनुसार ५७३ घर बनाउन लागिएको हो । नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बन्नेछ । सबै एकै प्रकारका २ तले ४ कोठे घर बन्ने लाप्राक नमुना बस्ती गुरुयोजनामा उल्लेख छ । गुरुयोजनाअनुसार पहिलो तलामा सिमेन्ट, इँट्टा र बालुवाको प्रयोग गरिनेछ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिनेछ । ट्रस हालेर निलो जस्ताको छानो लगाइनेछ । घर निर्माणका लागि आवश्यक इँटा बनाउने मेसिन गुप्सीपाखामा नै लगिएको छ । १० प्रतिशत सिमेन्ट र ९० प्रतिशत माटो मिसाएर त्यही इँटा उत्पादन गरिएको छ । चाइनिज प्रविधिको मेसिनले दैनिक ९ हजार इटा बनाउनेछ । स्थानीयको श्रमदानसमेत गरेर प्रतिघर १२ लाख रुपैयाँको लागतमा बन्ने भएको हो । अन्य संघ संस्थासँगको साझेदारीमा खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतका पूर्वाधार पनि तयार पार्ने एनआरएनको तयारी छ । स्थानान्तरणका लागि एकीकृत बस्ती बनिरहे पनि लाप्राकीहरूले पुरानो गाउँमा धमाधम घर बनाइरहेका छन् । बस्ती निर्माणमा ढिलाइ, व्यावहारिक कठिनाइलगायतका कारण स्थानीयले पुरानै गाउँमा घर बनाउन थालेका हुन् । समुद्री सतहबाट २ हजार ८ सय मिटरको उचाइमा रहेको गुप्सीपाखामा चिसोका कारण हिउँदयाममा कठिनाइ हुने स्थानीयको दाबी छ । त्यसैले पुरानो गाउँ र नयाँ बस्ती दुवै ठाउँमा पालैपालो बस्ने उनीहरूले योजना बनाएका छन् । बस्ती निर्माणमा ढिलाइ भएपछि केही दिनअघि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एनआरएनएका पदाधिकारीलाई भेटेर नमुना बस्ती पुनर्निर्माण छिटो सक्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्