बढी भार बोक्ने ट्रक कारबाहीमा «

बढी भार बोक्ने ट्रक कारबाहीमा

बारा-सवारी अनुमति पत्रमा भन्दा बढी भार बोकी आएका मालबाहक सवारी साधनहरूलाई ट्राफीक प्रहरी र व्यवसायीले कारबाही थालेका छन् । वीरगन्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय तथा नेपाली मालबाहक ट्रकले भारवाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएपछि कारबाही थालिएको हो ।
हामीले दैनिक दर्जन बढी भारतीय नम्बरका भारवाहन क्षमताभन्दा दोब्बर लोड गरेका ट्रक कारबाहीका लागि यातायात व्यवस्था विभाग वीरगन्ज पठाउने गरेका छौ प्रदेश प्रहरी कार्यालय पथलैयाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक एमनाथ अधिकारीले भने– “केही समय यता भार बढी बोकी आउनेमा नेपाली सवारी साधनसमेत छन् उनीहरूलाई समेत यातायात पठाउने गरेका छौं ।
बढी भार बोकेकै काारण नेपालको सडक, पुल, बिग्रदै गएको छ भने सवारी दुर्घटनासमेत बढेर गएको ट्राफीक प्रहरीको तथ्याङ्कले देखाएको छ । ट्राफीक प्रहरीले भार मिलान गराउन नसक्ने समानहरू र सवारी धनीले समेत भार मिलान गर्न असक्षमता जनाएपछि त्यस्ता सवारीहरू ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग पठाउने गरेको छ । ट्राफिक प्रहरीले २ देखि ३ टनसम्म बढी बोकी आएका सवारी साधनलाई जरिवाना गरी छाडी दिने गरेको पाइन्छ ।
यता यातायात व्यवसायीले भने बढी भार बोकी आएका नेपाली सबारी साधनलाई मात्र भार मिलान गरेपछि मात्रै छाडी दिने गरेका छन् । तराई यातायात व्यवसायी संघका महासचिव संकरकुमार बिष्टले जनधनको क्षति सडक र पुल जोगाउन हामीले राज्यले गर्नुपर्ने काम स्वयं सेवकको रूपमा गरेको बताए । हामीले बढी भार बोकी आएका दैनिक आधादर्जन बढी नेपाली सवारी साधनलाई भार मिलान गरी छाड्ने गरेका छौं बिष्टले भने । बढी जसो इँटा, सिमेन्ट, चामल, कोइला ५० टनसम्म बोकी आउने गर्छन् ।
५० वर्ष बढी पुराना पुलहरू र ४० टनसम्म सडक क्षमता रहेको नेपालको राजमार्गमा नेपाली टेलरहरूले ९० टनसम्म र भारतीय ट्रकहरूले ८० टन र टेलरहरूले सय टन बढी महिनायता बोकी आउने गरेपछि ट्राफिक प्रहरी र व्यवसायी एकै पटक सडकमा उत्रेको हो । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारवाहन क्षमता २१ टन कायम गरिएको छ तर वीरगन्ज नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ६० टनभन्दा बढी लोड गरेका पाइएको छ ।
अधिकांश भारतीय मालबाहक ट्रकले नेपाल सरकारले कायम गरेको भारवाहन क्षमताको दोब्बर लोडसहित नेपाल आउने गरेको पाइएको छ ।यसरी भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्वसमेत छल्ने गरेको पाइएको छ पि ८१३ एडब्लु ८१६० नं को भारतीय मालबाहक ट्रकले भारतको बलरामपुरमा गाडी तौल गर्दा सामानसहित ४१ टन देखाइएको छ भने सोही गाडी नेपाली तौलपुलमा ४६ टन देखिएपछि पाँच टनको राजस्वसमेत छलेर ती गाडी नेपाल आउने पुष्टि भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय वीरगन्जले ओभरलोडसहित नेपाल भित्रिएका त्यस्ता भारतीय मालवाहक ट्रकलाई कारबाही गरिने जनाएको छ । विगतमा भारतीय मालवाहक ट्रकले ओभरलोडका साथ निर्वाध गुड्ने गरेको पाईए पनि व्यवसायीहरूको सक्रियता बढेपछि बाध्य भई ट्राफिक प्रहरीले समेत अनुगमन र कारबाही तीव्र पारेको हो ।
भारतीय सवारी साधनले नेपाली भन्सारमा सामान्य खर्चमै जतीपनि भार बोकी हिँड्न पाइने र नेपाली आयातकर्ताहरूलाई समेत ढुबानी भाडा सस्तो पर्ने भए पछि सवारी साधनमा भारवाहन क्षमता खुल्ला रूपमा बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्