उद्योग वाणिज्य महासंघसग किन रुष्ट छन् व्यवसायी ? «

उद्योग वाणिज्य महासंघसग किन रुष्ट छन् व्यवसायी ?

नेपाल उद्योग वाणिज्य महासंघको भूमिकाप्रति पूर्वका उद्योगी–व्यवसायीहरूले आपत्ति जनाएका छन् । विगत केही दिनयता महासंघको भूमिका तल्लो स्तरका जिल्ला नगर उद्योग वाणिज्य संघ एवं उद्योगी–व्यवसायीका समस्याहरूमा कुनै चासो नदिएको उनीहरूको आरोप छ । महासंघले भेदभावपूर्ण व्यवहार गरेको भन्दै उनीहरू रुष्टसमेत भएका छन् । राष्ट्रिय स्तरमा असर पर्ने कुरामा कुनै राय–सुझाव लिई सबैको भावनामा काम गर्न नसकेको हुँदा अबका दिनमा महासंघले आफ्नो व्यवहार सच्याउनुपर्ने, अन्यथा जिल्ला नगर उद्योग वाणिज्य संघहरू अनुरोध मान्न बाध्य नहुने चेतावनीसमेत दिएका छन् । गत साउनमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाइमा प्रधानमन्त्री निवास बालुवाटारमा उद्योगीका समस्या र समग्र औद्योगिक क्षेत्रको विकासका लागि सरोकारवाला मन्त्रीसहितसँग छलफल भएको थियो, जहाँ विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षको समेत सहभागिता थियो । संघ र संगठनले महासंघलाई बाइपास गरेर छलफल गरेको महासंघले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । बालुवाटारमा भएको छलफलपछि महासंघसँग उद्योग संगठन र मोरङ व्यापार संघको सम्बन्ध चिसिएको छ । पूर्वका उद्योगीहरूले विराटनगरमा भेला नै आयोजना गरेर महासंघको भूमिकाप्रति गम्भीर असन्तुष्टिसमेत व्यक्त गरेका छन् । महासंघसँग रुष्ट हुनुको कारण, पूर्वको औद्योगिक अवस्था, भावी योजनालगायतका विषयमा कारोबारका १ नम्बर प्रदेश संयोजक मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

महासंघको भूमिका कमजोर देखियो
भीम घिमिरे
अध्यक्ष, उद्योग संगठन मोरङ
पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको भूमिका एकदमै कमजोर देखिएको छ । उद्योगी–व्यवसायीको हकहितमा भन्दा महासंघ राजनीतिमा बढी केन्द्रित भएको देखिन्छ । सरकारले जताततै कर वृद्धि गरेको छ । मजदुरको अवैज्ञानिक ढंगबाट न्यूनतम पारिश्रमिक बढाएको छ । तर, महासंघ यस विषयको भूमिका मौन रह्यो; अर्थात् महासंघको भूमिकै देखिएन ।
महासंघ भनेको समग्र उद्योगी–व्यवसायीको हकहितका लागि लड्ने संस्था हो । देशभरका उद्योगी–व्यवसायीको छाता संस्था हो । सबै उद्योगी–व्यवसायीको अभिभावक हो । महासंघले विगतको साख नजोगाउने हो कि भन्ने हामीलाई चिन्ता लाग्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यू विराटनगर आउनुभएका बेला हाम्रा समस्याहरू राखेका थियौं । त्यतिबेला प्रधानमन्त्रीज्यूले हामीलाई उद्योगी–व्यवसायीका लागि सरकारले गर्नुपर्ने काम र पूर्वको औद्योगिक समस्या लिएर आउनु भन्नुभएको थियो । त्यसैअनुसार उद्योग संगठन र मोरङ व्यापार संघको पहलमा प्रधानमन्त्रीलाई भेट्न गएका थियौं । प्रधानमन्त्री निवास बालुवाटारमा समग्र औद्योगिक विकासका विषयमा उद्योगमन्त्री, आपूर्तिमन्त्री, ऊर्जामन्त्रीसहित मोरङका सांसदहरूलाई राखेर व्यापक छलफल भएको थियो । सोही छलफललाई लिएर महासंघले आपत्ति जनाएको छ ।
आफू पनि गर्न नसक्ने अरूले गर्दा पनि आपत्ति जनाउनुको कुनै अर्थ छैन । हामीले सक्यौं ग¥यौं, के बिग्रियो । हामीले उद्योगी–व्यवसायीकै हितका लागि काम गरेका हौं । महासंघ तड्पिनुको कुनै अर्थ देख्दिनँ म । यतिसम्म कि मेरी आमाको निधनपछि म शोकमा रहेको समयमा सामान्य मानवीय संवेदनशीलतालाई समेत ध्यानमा नराखी महासंघले स्पष्टीकरणको शैलीमा जानकारी माग गरेको छ । महासंघको दायित्व के हो ? महासंघले के गरिरहेको छ ? अब हामीले होइन, देशभरका उद्योगीहरूले प्रश्न गर्नेछन् । उद्योगी–व्यवसायीले राम्रो काम गर्दा प्रोत्साहित गर्नुपर्ने ठाउँमा डिमोरलाइज गर्ने काम भएको छ । महासंघले यस्तै गर्दै गयो भने उसका कुनै पनि निर्णय हामी मान्न बाध्य हुने छैनौं । अहिले देशभरका उद्योगी–व्यवसायीहरू कर र चन्दाआतंकबाट आतंकित हुनुपर्ने अवस्था छ । यस विषयमा महासंघको भूमिका खोइ ? प्रधानमन्त्रीलाई आफ्ना समस्या राख्न जाँदा महासंघको स्वीकृत लिनुपर्छ भन्ने छैन । हाम्रै पहलमा कार्यदलसमेत गठन भएको छ ।

माग सुनुवाइ नभएपछि प्रधानमन्त्रीलाई भेटेका हौं
पवनकुमार सारडा
अध्यक्ष, मोरङ व्यापार संघ
साउन २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा निजी क्षेत्रमा देखिएका समस्याका विषयमा गम्भीर छलफल भएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र विभिन्न सरोकारवाला मन्त्रीको उपस्थिति हुनुहुन्थ्यो । समग्र निजी क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको निर्देशनमा उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । सो कार्यदलमा म, महासचिव नवीन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, संगठनका पूर्वअध्यक्ष सुशील धनावत परेका थियौं । त्यही कार्यदलले प्रदेश १ का उद्योगी–व्यवसायीसँग छलफल गर्न भेला बोलाएका थियौं । त्यो भेलामा थुप्रै सुझाव आएका छन् । आएका सबै सुझावलाई हामी कार्यदलमा राख्नेछौं ।
भेलामा महासंघको भूमिकाका विषयमा गम्भीर छलफलसमेत भयो । निजी क्षेत्रका समस्या समाधान गर्नेतर्फ महासंघ गम्भीर छैन । मजदुरको पारिश्रमिक वृद्धि गर्दा, औद्योगिक ऐन बनाउने क्रममा महासंघले हामीसँग छलफल नै गरेन । सरकार जे भन्यो त्यही मान्यो महासंघले । उसले उद्योगी–व्यवसायीको हित हेरेन । हामीले भोट दिएर महासंघको नेतृत्व चुनेका हौं । तर, हाम्रो फोन उहाँहरू उठाउनुहुन्न । हामीलाई त दिनहुँ उद्योगी–व्यवसायीले समस्या राख्नुहुन्छ । हामीले पनि महासंघमार्फत सरकारलाई उद्योगीका समस्या राख्ने हो । तर, पटक–पटक फोन गर्दा पनि महासंघ नेतृत्वले रेस्पोन्स नगरेपछि हामी बाध्य भएर आफ्ना समस्या राख्न प्रधानमन्त्री निवास गएका हौं । त्यही विषयलाई लिएर भीम घिमिरेजीलाई मातृशोकमा रहेका बेला महासंघले स्पष्टीकरण सोधेको रहेछ । त्यो स्पष्टीकरणका विषयमा भेलामा व्यापक छलफल भयो र भेलाले खेद प्रस्तावसमेत पारित गरेको छ ।
महासंघको नेतृत्व त काठमाडौंमा बस्छ । उहाँहरूलाई उद्योगी–व्यवसायीको पीडा थाहा हुँदैन । नेतृत्वमा बस्नेको कतिको त उद्योग पनि छैन । अनि मोरङ–सुनसरी, वीरगन्ज, बुटवललगायतका स्थानमा रहेका उद्योगीको समस्या कसरी थाहा हुन्छ । हामी त दिनहुँ उद्योगीकै बीचमा हुन्थ्यौं । उनीहरूले हामीलाई समस्या राख्नुहुन्छ । अति भएपछि हामीले सल्लाह गरेरै प्रधानमन्त्रीलाई भेटेर समस्या राखेका हौं । विगतमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पनि कोशी कटानका बेला डेलिगेसन गएका थियौं हामी, अनि अहिले उद्योगीका समस्या लिएर प्रधानमन्त्रीकहाँ जाँदा किन चित्त दुखाउनु महासंघले ? जनताले राजामहाराजाको त विरोध गर्छन् । प्रधानमन्त्रीको विरोध गर्छन् । मन्त्रीको विरोध गर्छन् अनि हामीले महासंघको भूमिकाको विषयमा प्रश्न उठाउन नपाउनु ?

महासंघ निजी क्षेत्रको अभिभावक बन्न सकेन
राजेन्द्र ढकाल
अध्यक्ष, दमक उद्योग वाणिज्य संघ, झापा
अहिले उद्योगी–व्यवसायीहरू समस्यामा छन् । तीनै तहको सरकार त बन्यो तर अझै औद्योगिक वातावरण बन्न सकेको छैन । बैंकको ब्याज १४ प्रतिशत पुगेको छ । उद्योगी–व्यवसायीहरू दिनदहाडै मारिँदैछन् । दमककै कुरा गर्ने हो भने एक जना व्यवसायीको हत्या भएको छ । खोइ त नेपाल उद्योग वाणिज्य महासंघले आवाज उठाएको ? अहिलेसम्म एउटा विज्ञप्ति प्रकाशित गरेर घटनाको विरोध गरेको छैन । फोन गर्दा महासंघका न त अध्यक्षले उठाउनुहुन्छ, न त वरिष्ठ उपाध्यक्ष वा अन्य पदाधिकारीले । महासंघ एकदमै कमजोर अवस्थामा छ अहिले ।
महासंघ भनेको हाम्रो बुवा हो । छोराछोरीको संरक्षण गर्ने दायित्व बुवाको भएजस्तै उद्योगी–व्यवसायीको संरक्षण गर्ने दायित्व महासंघको हो । मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमतिमा हस्ताक्षर हुन्छ तर उद्योगी–व्यवसायीसँग छलफल हुँदैन । उद्योगीलाई जेल हाल्ने कानुनमा महासंघ हस्ताक्षर गर्छ । हामीले यस्तो महासंघको परिकल्पना गरेका होइनौं । समग्र उद्योगी–व्यवसायीको पक्षमा आवाज उठाउने, समक्ष र सबल महासंघ चाहेका छौं । कुनै पनि काम गर्दा घरपरिवारमा त सल्लाह हुन्छ ।
महासंघ हाम्रो अभिभावक भएपछि कानुनमा हस्ताक्षर गर्दै गर्दा, मजदुरको पारिश्रमिक वृद्धि हुँदै गर्दा छलफल गर्नुपथ्र्यो अनि उद्योगीका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको विषयमा उद्योग संगठनका अध्यक्षलाई स्पष्टीकरण सोधिएको छ, त्यो पनि मातृशोकमा परेको बेला । महासंघका एक जना कर्मचारीले तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै स्पष्टीकरण काटिएको छ । कार्यदलले बोलाएको भेलामा यस विषयमा व्यापक छलफल भयो । शोकमा परेका बेला संवेदना प्रकट गरिन्छ कि स्पष्टीकरण ? यसले हामी पूर्वका सबै उद्योगी–व्यवसायीलाई आक्रोशित बनाएको छ ।
महासंघको भूमिका दर्बिलो हुनुपर्छ । हामीले पनि व्यवसायीको हितमा काम गर्ने हो । हामीलाई उद्योगी–व्यवसायीले समस्या राख्नुहुन्छ । हामीले महासंघलाई भन्ने हो । तर, महासंघ हाम्रो फोन उठाउँदैन । हामीलाई वास्ता गर्दैन । अहिले उद्योगी–व्यवसायीले सामान्य त्रुटि गरे भने पनि जेल हाल्ने कानुन बनेको छ । अब कानुनअनुसार सरकार अगाडि बढ्यो भने दैनिक १–२ सय उद्योगी–व्यवसायी जेल पर्ने अवस्था आउन सक्छ । सरकारले यस्ता कानुन बनाउँदै गर्दा महासंघ कहाँ थियो ? महासंघले त्यस्तो कानुन बनाउन किन सहयोग गर्यो ? महासंघको भूमिकाप्रति हाम्रो घोर आपत्ति छ ।

अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ
पुष्कर खड्का
अध्यक्ष, उदयपुर उद्योग वाणिज्य संघ
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले मलाई प्रदेश–१ का उद्योगी–व्यवसायीको भेला छ भनेर विराटनगरमा बोलाउनुभयो । उहाँले उद्योगी–व्यवसायीका समस्या र करका छलफल छ भनेर बोलाउनुभएको थियो । निजी क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलका सदस्य स्वयं सारडा पनि हुनुहुन्छ । उहाँले बोलाएपछि नजाने कुरै भएन । भेलामा प्रदेश–१ का उद्योगी–व्यवसायीले भोग्नुपरेको पीडाका विषयमा व्यापक छलफल भयो । मैले पनि करका विषयमा विभिन्न सुझाव दिएँ । उद्योगी–व्यवसायीका समस्याका विषयमा आफ्नो धारणा राखें । मलाई माइन्युट प्रमाणित गर्नका लागि तोकिएको थियो । माइन्युट प्रमाणित गरेर म भेलाबाट हिंडे । मलाई हतार भएकाले म भेलाबाट चाँडै निस्कें । पछि उद्योग वाणिज्य महासंघको भूमिकाका विषयमा छलफल भएछ ।
महासंघ भनेको सबै उद्योगी–व्यवसायीको अभिभावक हो । महासंघले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । महासंघले सीमित व्यक्तिको भन्दा समग्र निजी क्षेत्रको हितमा ध्यान दिनुपर्छ । उद्योगीका आवाज नसुनेपछि गुनासो आउनु स्वभाविकै हो । अभिभावक भइसकेपछि त्यहीअनुसारको भूमिका देखाउनुपर्छ । उद्योगी–व्यवसायीका धेरै नै समस्या छन् । बैंकको ब्याज बढिरहेको छ । भन्सार कर बढेको छ । तीनै तहको सरकारले विभिन्न कर लगाएको छ । यसले गर्दा उद्योगी–व्यवसायी लगानी गर्न अझै हिचकिचाइरहेका छन् । ढुक्क भएर लगानी गर्ने वातावरण अझै बन्न सकेको छैन । महासंघले सरकारसँग लबिङ गरेर निजी क्षेत्रको समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । सरकारले उद्योगी–व्यवसायीलाई समेत सहभागी गराएर कार्यदल गठन गरेको छ । आशा छ, अब कार्यदलले सुझाव दिइसकेपछि अवश्य पनि समस्या समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्