Logo

सम्पदा पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई ध्यान दिउँ : ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई ध्यान दिन आवश्यक भएको बताएका छन् । रानीपोखरी पुनर्निर्माणमा देखापरेको समस्याबारे छलफल गर्न पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो स्वरुपमा बनाउँदा त्यसको प्रामाणिकतालाई पनि जोड दिनुपर्ने बताए ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन शैली कि जंगबहादुर राणाको समयमा निर्माण भएको गुम्बज शैलीमा बनाउने भन्ने अन्योल जारी रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसको टुंगो लगाउनका लागि केही पक्षमा स्पष्ट हुन जरुरी भएको बताए । एक सय वर्षअघिका सम्पदालाई कसरी प्रमाणित गर्ने, देखेको शैली अम्वलम्बन गर्ने कि त्योभन्दा अघिल्लोमा जाने लगायतका पक्षमा स्पष्ट हुनुपर्ने भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरी पुनर्निर्माणबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग थप छलफल गरेर छिट्टै टुंगो लगाउने बताए ।
पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि रानीपोखरीमा रहेको बालगोपालेश्वरको मन्दिर निर्माण रोकिएको छ । यसअघि काठमाडौं महानगरपालिकाले मन्दिर निर्माण गर्दा मापदण्ड पूरा नगरेको भन्दै पुरातत्व विभागले निर्माण गर्न रोकेको थियो ।
छलफलका क्रममा विज्ञहरूले आआफ्ना धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्