Logo

दूधकोसी जलाशयलाई एडीबीको ५५ अर्ब ऋण

एशियाली विकास बैक (एडीबी) ले ८ सय मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना निर्माणका लागि ५ सय मिलियन डलर अर्थात ५५ अर्ब ६ करोड रुपैयाँ (बुधबारको विनिमय दरअनुसार)भन्दा बढी ऋण दिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले गठन गरेको दूधकोशी जलविद्युत् कम्पनीमार्फत निर्माण हुन लागेको यो आयोजना निर्माणका लागि एडीबीले यति ठूलो परिमाणमा ऋण दिने भएको हो ।
कुल १ खर्ब ५० अर्ब लागत अनुमान गरिएको आयोजनाको लागि एडीबीले ५५ अर्ब दिने प्रतिवद्धता जनाएको र यसको सम्झौता भने हुन बाँकी रहेको दूधकोशी जलविद्युत् आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठले जानकारी दिए । एडीबी स्रोतले भने ५ मिलियन डलर ऋण लगानी गर्ने निर्णय भइनसकेको जनाएको छ । आयोजना प्रमुख श्रेष्ठले आयोजनाको लागि लगानी जुटाउनका लागि आयोजनाले प्रक्रिया अघि बढाइसकेको बताए ।
हाल आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको आयोजनाको ६ महिनाभित्र पूरा गरेर सन् दुई वर्षभित्र निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने सो आयोजनामा करिब १३ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । १३ किलोमिटर लामो सुरुङ निर्माणका लागि बढी समय लाग्ने भएकोले टनेल वोरिङ मेशिन (टीबीएम) ल्याउनेबारे छलफल अघि बढेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । “भेरी बबई सिँचाइ आयोजनामा प्रयोग भएको टीबीएमले धेरै छिटो सुरुङ निर्माण गरेकोले दूधकोशीमा पनि टीबीएम प्रयोगबारे छलफल भइरहेको छ,” उनले भने ।
सन् १९९८ मा भएको पूर्वसम्भाव्यता अध्ययन भएको आयोजनाको तीन वर्षअघि सम्भाव्यता अध्ययन भएको थियो । विस्तृत प्रतिवेदन आउन बाँकी रहेपनि प्रारम्भिक प्रतिवेदनले भने आयोजनाबाट करिब ७५ घरधुरी विस्थापित हुने देखिएको थियो । आयोजनालाई पूर्वाञ्चल क्षेत्रको जलविद्युत् प्रणाली सन्तुलन कायम राख्न सकिने आयोजनाका रूपमा लिइन्छ । लोडसेन्टर नजिक रहेको सो आयोजनामा मोटरबाटोलगायतका पूर्वाधारहरू पुगिसकेकोले छिट्टै र समयमै बन्ने आयोजनाको रूपमा लिइने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्