ओलाङचुङगोला–टिपतला भन्ज्याङ सडकमा तिब्बतको ९६ करोड

ताप्लेजुङ-जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको नेतृत्वको टोली असोज अन्तिम साता तिब्बत भ्रमणमा निस्कियो । फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहित सुरक्षा निकाय प्रमुखको टोली पहिलो दिन लेलेपसम्म पुगे । दोश्रो दिन ओलाङचुङगोलासम्म पैदल हिडेर पुगे । तेश्रो दिन बेलैमा तिब्बतको घुम्तीमा बजार पुगे । सुकेटार–ओलाङचुङगोला सडक ४१ किलोमिटर दुरी छ । यो खण्डमा २१ किलोमिटर ट्रयाक खोल्ने काम जारी छ । दुईतिरबाट ट्रयाक खोल्ने क्रममा एकातिर (ओलाङचुङगोला) चिनियाँ ठेकेदार र अर्कोतिरबाट नेपाली ठेकेदारले ट्रयाक खोल्ने काम जारी राखेको छ ।
ओलाङचुङचुङगोला–टिपतला भन्ज्याङ २४ किलोमिटर दुरी सडकमा ट्रयाक खोलिएको छ । यहाँ दैनिक नभइ आवश्यकता बमोजिम नेपाल सरकारको अनुमतिमा चिनियाँ गाडी गुड्छन् । सदरमुकामदेखि गोलासम्म बीच भागमा ट्रयाक खोल्ने काम जारी भएकाले गोलासम्म गाडी र पैदल यात्रा बराबर जस्तै बन्यो । ओलाङचुङगोलासम्म पाहुना लिनका लागि ५ वटा चिनियाँ गाडी तयार थिए । २ घण्टा यात्रामा तिब्बतको घुम्तीमा बजार पुग्यो । हिमालको काखको सडकमा सरर मोटर चढेर पुग्दाको मज्जा त थियो नै, तर नेपालतिर पनि यस्तै सडक कहिले बन्ला भन्ने छिमेकीको जिज्ञासा मेटाउन दिएको जवाफले सबैले असजिलो महसुस गरे । तिब्बतको घुम्तीमा बजारमा नेपाली टोलीलाई स्वागत गरे । घुम्तीमा बजारमा बजार उद्घाटन र शेर्पा महोत्सव थियो । दोश्रो दिन सांस्कृतिक कार्यक्रम र तेश्रो दिन नजिकैको रिउ बजार घुमफिर थियो ।
असोज २९ गते दुई टोलीबीच वार्ता भएको थियो । मोटरबाटो स्तरोन्नती, व्यापार र सीमा सम्बन्धि विषयमा वार्ता केन्द्रित बनेको जिसस प्रमुख मादेनले जानकारी दिए । उनले भने, “सीमा सम्बन्धि समस्या छैन् । यद्यपी व्यापार र सडकको विषयमा सहयोगको बचन दिएको छ ।”
चीनले ताप्लेजुङतर्फको नाका टिप्ताला भञ्ज्याङवाट – ओलाङचुङगोला सम्मको २४ किलोमिटर सडक स्तरोन्नती गरिदिने भएको छ । नेपाली ९६ करोड रुपैयाँ बिनियोजन भइसकेको डिङजे काउण्ट्रीका प्रमुख कुङ्गलाले बताए । स्तरोन्नतीको काम समेत चीनले नै गरिदिने भएको छ । स्थानीयको लगानीमा खनिएको यो सडकको ट्रयाक खोल्ने काम चाँही चिनियाँ ठेकदारेले नै गरेका हुन् । सडक स्तरोन्नतिका लागि फक्ताङलुङ गाउँपालिकाले डिङजे काउण्ट्री समक्ष यसअघिको बैठकमा माग गरेको थियो । ओलाङचुङगोलासम्म आएका कुङलाले गत वर्ष खोलाको कारण बाटो अवरुद्ध भएर तीन दिन गोलामै थुनिनु परेपछि उनले नेपाल सरकारमार्फत प्रकृया पु-याएर आए आफूहरुले सडक स्तरोन्नती गरिदिने आश्वासन पनि दिएका थिए । यो सडक ओलाङचुङगोलामा जन्मेर देश विदेशमा रहेका वालुङहरुको संस्था वालुङ समाजको लगानीमा खनिएको हो । जन्मस्थलसम्म सडकले जोड्न वालुङहरुले तीन करोड रुपैयाँ संकलन गरेर चिनियाँ ठेकेदारलाई काम लगाएका थिए । सडकको स्तरोन्नतिका लागि भने गाउँपालिकाले समेत ४३ लाख रुपैयाँ खर्च गरेको प्रवक्ता छेतेन वालुङले बताए ।
२४ किलोमिटर सडक खण्डमा चिनियाँ सवारी साधन अढाइ घण्टामा एकतर्फी गन्तव्यमा पुग्ने गरेका छन् । ५ घण्टामा सिमानादेखि बस्तिसम्म सहजै ओहोरदोहोर हुन्छ । स्तरोन्नतीपछि ओलाङचुङगोलाको बस्तीबाट डेढ घण्टामै सिमानासम्म पुगिन्छ ।
देवराज गुरुङ