Logo

समयमै सडक बनाउन उपभोक्ताले ठेकेदारलाई खुवाए कसम

बिर्तामोड– ठेकेदारको लापरबाहीले समयमै सडक निर्माण पूरा नगरेर समस्या बनाइरहेको समयमा झापाको बिर्तामोडमा उपभोक्ताले सडक निर्माण गर्ने ठेकेदारलाई तुलसी पानी समाउन लगाएर समयमै सडक निर्माण पूरा गर्ने कसम खुवाएका छन् ।

झापाको बिर्तामोड–९ सहिद चन्द्र मार्गको सडकको शिलान्यास गर्दैगर्दा उपभोक्ताले ठेकेदार कम्पनीका प्रतिनिधि दलवीर लिम्बूलाई तुलसी पानी समाउन लगाएर समयमै सडक निर्माण पूरा गर्ने कसम खुवाएका हुन् । सडक बोर्डले हल्दिबारीको सिमाना सम्झनाचोकदेखि उत्तरपट्टि प्लमसहित ४५० मिटर कालोपत्रे सडक निर्माण गर्नका लागि एक करोड बजेट छुट्याएकोमा ठेक्का प्रक्रियामा जनकपुरको एसबीएम कन्स्ट्रक्सनले ४० प्रतिशत कम रेट (६० लाख) मा ठेक्कामा पारेको थियो ।

४० प्रतिशत कम रेटमा ठेक्का लिएका ठेकेदार कम्पनीका प्रतिनिधि लिम्बूलाई शिलान्यास कार्यक्रममा उपभोक्ताले तुलसी पानी समाउन लगाएर समयमै सडक निर्माण पूरा गर्ने कसम खुवाएका हुन् । ४५० मिटर लम्बाइ र सात मिटर चौडाइ हुने सडकको दुवैपट्टि प्लम र प्लमभित्र एकएक मिटर पैदलमार्ग रहने सडक डिभिजन दमकका डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए ।

सडक बोर्डबाटै लागि एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको र त्यसबाट आठ सय मिटर सडक निर्माण हुने उनले बताए । जनकपुरको एसबीएम कन्स्ट्रक्सनले कात्तिकमा सम्झौता गरेको र सडक निर्माणको काम सक्ने अन्तिम म्याद आगामी जेठसम्म रहेको ठेकेदार कम्पनी एसबीएम कन्स्ट्रक्सनका प्रतिनिधि दलवीर लिम्बूले बताए । ठेकेदारहरूले सडक निर्माणमा लापरबाही गरेर समयमै सडक निर्माण नहुँदा सर्वसाधारण भने समस्यामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्