Logo

पोखराका यातायात व्यवसायी कम्पनीमा

 कार्यविधि नहुँदा व्यवसायीमा अन्योल

पोखरा क्षेत्रका यातायात व्यवसायीहरू कम्पनीमा दर्ता भएका छन् । यसअघि विभिन्न समितिमा आवद्ध रहेका सार्वजनिक यातायात सञ्चालकहरू अन्ततः सरकारको नीतिअनुसार कम्पनीमा दर्ता भएका हुन् । पोखरा ट्रक व्यवसायी संघबाहेक अन्य सबैजसो समितिहरू कम्पनीमा दर्ता भएका छन् ।
सिण्डिकेट खारेज गरी करको दायरामा ल्याउन राज्यले कम्पनीमा दर्ताका लागि अनिवार्य गरेसँगै पोखरा क्षेत्रका ट्याक्सी तथा बस व्यवसायी समिति तथा पृथ्वी राजमार्ग बस सञ्चालक समिति कम्पनीमा दर्ता भएका हुन् । पोखरा क्षेत्रका अधिकांश यातायात व्यवसायीहरू कम्पनीमा रूपान्तरण भएको गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख अच्युत्त रेग्मीले जानकारी दिए । पोखरा क्षेत्रमा करिब २० हजार सवारीसाधन रहेको तथ्यांक छ । सरकारले यातायात व्यवसायीहरूलाई अनिवार्य रूपमा कम्पनीमा जान निर्देशन दिए पनि कम्पनीमा गएसँगै कम्पनीमा व्यवसायी र कम्पनीबीच कसले कस्तो दायित्व बहन गर्ने, दूर्घटना हुँदा कसले जिम्मा लिनेजस्ता विषयमा अन्योल छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, पोखरा ट्याक्सी व्यवसायी समितिलगायतका समितिहरू कम्पनीमा दर्ता भएका छन् भने गण्डकी ट्रक व्यवसायी संघ भने हालसम्म कम्पनीमा दर्ता भएको छैन । नेपाल ट्रक व्यवसायी महासंघ अन्य व्यवसायीहरू भन्दा फरक भएकोले आफूहरूको नवीकरणसमेत भइसकेको महासंघका केन्द्रीय सदस्य भानुभक्त अधिकारीले बताए ।आफ्नो व्यवसाय यात्रुवाहक नभएको र सिण्डिकेट समेत नभएकोले गर्दा अन्य व्यवसायीभन्दा फरक भएको उनको जिकिर छ । महासंघले सर्वोच्च अदालतमा हालेको रिट हाल विचाराधीन छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले कम्पनिमा दर्ता गरी सरकारले दिएको समयभित्रै आफूहरू कम्पनीमा गएको समितिका अध्यक्ष ऐन कुमार शाहीले बताए । समितिमा १ हजार ३ सय ८१ वटा यात्रुवाहक सवारीसाधन आवद्ध छन् । उनले भने, “हामीले संघ संस्था ऐन २०३४ अनुसार हामीले संस्था दर्ता गरेकोले हाम्रो संस्थामा धेरै व्यवसायीहरू आवद्ध भएकोले हाम्रो लागि भने राज्यले छुट्टै ऐन कानुन ल्याउनुपर्छ ।” पोखरा वस व्यवसायी समितिका महासचिव अमृत तिमिल्सिनाले आफूहरू पनि कम्पनीमा गएको जनाए । उनका अनुसार ३ सय ६२ जना व्यवसायीका ३ सय ७८ वटा बसहरू कम्पनीमा सूचिकृत भएका छन् । कम्पनीमा गएसँगै तत्काल कार्यविधि नहुँदा आफूहरूलाई व्यवसाय सञ्चालन गर्न कठिन हुने उनले बताए । दुर्घटनाको व्यवस्थापन, करको छिनोफानो, नाफाघाटा, मजदुरको दायित्वलगायतका विषयमा हालसम्म कुनै टुंगो नलागेको महासचिव तिमिल्सिनाले बताए । पोखरा ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले १ हजार ५ सय ६१ वटा ट्याक्सीसहित आफूहरू कम्पनीमा दर्ता भएको जानकारी दिए । उनका अनुसार अझै समितिमा आबद्ध भएका करिब ३ सय ट्याक्सी भने प्राविधिक कारणले कम्पनीमा सूचिकृत हुनसकेका छैनन् । यस्तै, पोखरामा हरियो प्लेटका सवारीसाधन सञ्चालन गर्ने १७२ कम्पनी रहेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । नाट्टामा ठूला बस करिब ५५ देखि करिब ६ सयवटा जिप तथा मिनी–माइक्रो, हायसलगाययतका सवारी रहेको उनले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्