पुजा सामग्रीमा नेपाललाई आत्मनिर्भर बनाइने

हामी नेपालीको विडम्बना नै हाम्रो परिनिर्भरतामा हो । नेपालीको आस्था र धार्मिक परम्परा पनि परनिर्भर नै छ । प्रत्येक वर्ष धार्मिक कार्यमा आवश्यक पर्ने अर्बैं मूल्यका पुजा सामग्री भारत साथै तेस्रो मुलुकबाट नेपाल भित्रन्छ । हाम्रै घर, आँगन र वनजंगलमा पाइने नास भइरहेका सामग्रीहरु बाहिरबाट आयात गर्नु पर्ने अवस्था छ ।
दैनिक पुजापाठमा चाहिने सामग्रीदेखि लिएर हामीले गर्ने धार्मिक कार्यक्रममा विदेशबाट आयतित सामग्रीको नै प्रयोग हुन्छ । अझ अनौठो के छ भने गाईको बाछिको पिसाव (गौमुत्र) पनि विदेशबाट आउँछ । गौमुत्र प्रशोधन गर्ने हो भने हामी आफँै आत्मनिर्भर बन्न सक्छौँ । हामीलाई आवश्यक पर्ने पुजा सामग्री आफैं उत्पादन गरेर आत्मनिर्भर बन्ने उद्देश्यले झापाको कमल गाउँपालिका –६मा दिब्यदृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि सञ्चालनमा छ । उद्योगमा हवन सामग्री, अष्टाधान्य, गौमुत्र, पवित्र सप्तधान्य, पवित्र सर्वोषधी, पवित्र पञ्चरत्न, पवित्र स्प्तमृतिलगायतका २५देखि ३० प्रकारका पुजा सामग्री उत्पादन भइरहेको सञ्चालक विष्णुप्रसाद पोखरेलले बताए ।
प्रशोधित गौमुत्र पेटसम्बन्धी ग्याष्ट्रिक, अल्सर, रुघाखोकी, बाथलगायत रोगको उपचारका लागि पनि प्रयोग भएको पाइन्छ । जहाँ पनि सहजै पाइने (दुबो), औषधिजन्य कार्यमा समेत प्रयोग हुने आँक, बेलपत्ता, कुश, नवग्रह समिधाको रुपमा प्रयोग हुने विभिन्न वनस्पतिका सानासाना टुक्राहरु समेत भारतबाट आउन गरेकाले नेपालमा नै उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको पोखरेलको भनाइ छ । “नवग्रह समिधामा अर्क तथा आँक, पलाश, पिपल, डुम्री, शमी, दुबो, खयर, लटजीरा, कुश प्रयोग हुने गर्छ । यो यहि उत्पादन गर्न सकिन्छ र कतिपय घरआँगनमा सहजै पाइन्छ” उनले कारोबार दैनिकलाई भने, “यसमासमेत हामी परनिर्भर रहेका छौँ र विदेशबाट आयतित गरिरहेका छौँ ।”
पुजा सामग्रीमा आत्मनिर्भर बनाउने उद्देश्यले उद्योगको स्थापना गरिएको उद्योगका अध्यक्ष यज्ञप्रसाद आचार्यले बताए । “हरेक धार्मिक कर्ममा प्रयोग हुने गाईको दुधबाट बनाइने पञ्चामृतमा हाल्ने मसला पनि भारतबाट नै आउने गरेको छ” आचार्यले भने, “हामीले परिमलको नाममा उत्पादन गरिरहेका छौं ।” बजारमा बाटेको धुपको माग पनि उच्च रहेको छ । उद्योगले पहाडे कागजमा पहाडि क्षेत्रमा पाइने धुपी लगायतका सुगन्धित बुट्यानका पातहरु प्रयोग गरेर धुपसमेत बनाउँदै आएको छ । महिलाहरुको समुह बनाएर बाटेको धुप बनाउने गरेको उनले बताए ।
यसले आंशिक रोजगारीसमेत सिर्जना गरेको छ । उद्योगमा उत्पादित पुजा सामग्री काठमाडौँ, धनगढीको बजारसम्म पुग्ने गरेको उनले बताए ।
हामीले पुजा गर्ने सामानमा भारत उल्लेख भएको देखेर नै नेपालमा पुजा सामग्री उत्पादन गर्ने उद्योगको स्थापना गरिएको सञ्चालक पुनम भट्टराईले बताइन् । डेढ वर्ष अघि ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उद्योग सुरू गरेदेखि नै कोरोना संक्रमण र यसको प्रभावले भएको लकडाउनले प्रभाव पारेको उनले बताइन् । अहिले बजारको मागसमेत अधिक रहेको उनले जानकारी दिइन् । भारतबाट सस्तो मूल्यमा धेरै मात्रामा पुजा सामग्री नेपाल भित्र्ने गरेकाले नेपाली उद्योग मारमा पर्ने गरेको भट्टराईले सुनाइन् । उद्योगलाई सरकारी क्षेत्रबाटसमेत सहयोग आवश्यक रहेको उनले जनाइन् ।
सरकारले पुजा सामग्री उत्पादनका लागि जमिन, प्रशोधन तथा प्याकेजिङका लागि मेशिनरी तथा उपकरणहरुमा लगानी गर्ने हो भने नेपाललाई आवश्यक पर्ने पुजा सामग्री नेपालमा नै उत्पादन गर्न सकिने सञ्चालक वविता तिम्सिनाले बताइन् । गौमुत्र उत्पादन तथा प्रशोधनका लागि बाछी तथा गाई पालनसँगै प्रशोधन यन्त्र पनि आवश्यक रहेको उनको भनाइ छ । उद्योगमा धार्मिक मान्यता अनुसार बरखि बार्दा सेवन गर्न मिल्ने जडिबुटीजन्य चिया, परालको चप्पल जुत्ता पनि उत्पादन गर्न सकिने उनले बताइन् । उद्योगमा अहिले ८ जनाले रोजगारीसमेत पाएका छन् ।