Logo

धान र मकैमा रोग लागेपछि किसान चिन्तित

बाली लगाउनु पूर्वनै माटोको उपचार गर्न प्राविधिकहरूले सुझाव दिने गरेका छन् ।

दाङ-दाङका किसानले लगाएको धान र मकै बालीमा विभिन्न रोग देखा परेका छन् । धानमा गबारो, ब्लाष्ट, खैरा रोग र मकैमा डाँठ कुहिने रोग देखा परेपछि किसान चिन्तित भएका छन् ।
दाङको प्रमुख बाली धानमा रोग देखापरेपछि किसानहरू उत्पादन घट्ने भन्दै चिन्तित बनेका छन् । “कहिले पानी अभाव त कहिले रोगका कारण यस वर्ष समयमै खेती गर्न सकिएन, त्यसमा पनि गबारो रोगले धानबाली सखाप पार्न थाल्यो,” तुलसीपुर–१३ फूलवारीका किसान राजन चौधरीले भने । उनी जस्तै धानमा रोग लागेको भन्दै कृषि सेवा केन्द्रमा धाउने किसानहरूको संख्या बढ्दै गएको छ । धानमा रोग देखा परेपछि किसानहरू उपचारको खोजी गर्दै धानको बोट नै बोकेर एग्रोभेट र कृषि सेवा केन्द्रमा धाउने गरेका छन् ।
तुलसीपुरस्थित एग्री नेपाल प्रालिमा दैनिक २०/३० जना किसान धानको विरुवा बोकेरै आउने गरेको प्राविधिक माधव केसीले बताए । बाघमारे, शान्तिनगर,पवननगर, हलवार, मानपुर, टरिगाउँ, डुरुवा र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाबाट किसानहरू उपचारको खोजी गर्दै आउने गरेका छन् । “धानमा पनि रोग लाग्यो मकै त झनै डाँठ कुहिने रोगले सबै सखापै भयो,” तुलसीपुर–२ का किसान प्रकाश खड्काले भने । उनले आफूले लगाएको मकै डाँठ कुहिने रोगले सबै सखाप भएको गुनासो गरे ।
तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले धेरै जसो किसानको धानबालीमा गबारो र ब्लाष्ट रोग देखा परेको बताए । उनले
कतैकतै भने जिंकको समस्याका कारण खैरो रोग लागेको भन्ने गुनासो आएकाले रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिइएको बताए । धेरैजसो हाइब्रेड जातको धानमा यो रोग देखा परेको छ । “दैनिकजसो किसानहरू कार्यालयमा आउँछन्, समस्या लिएर रोग नियन्त्रणको उपाय सिकाएर पठाउने गरेका छौं,” उनले भने । धान बालीमा लागेको रोग समयमै उपचार गरे हट्ने तर मकैमा बाली भने बचाउन नसक्ने प्राविधिकहरू बताउँछन् । माटोमा अम्लीयपन बढेपछि मकै बालीमा डाँठ कुहिने रोग देखापर्ने गरेको प्राविधिकहरूको भनाइ छ । बाली लगाउनुपूर्वनै माटोको उपचार गर्न उनीहरूले सुझाव दिने गरेका छन् ।
दाङमा करिब २३ हजार हेक्टरमा मकैवाली र ३६ हजार हेक्टरमा धान खेती हुँदै आएकोछ । रोगका कारण मकै बाली उत्पादनमा गिराउट आउने कृषि कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्