सेयर बजारमा १० अर्ब लगानी गर्न एनआरएनए इच्छुक

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सेयर लगानी गर्ने भएको छ । सेयर बजारमा १० अर्ब रुपैयाँ लगानी गर्ने एनआरएनएको योजना छ । एनआरएनएले सेयर बजारमा संस्थागत रूपमा लगानी गर्न चाहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरू र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा अन्य उच्च पदाधिकारीहरूबीच धितोपत्र बजारमा लगानी गर्ने सम्बन्धमा भएको छलफलमा एनआएनएले सेयर बजारमा लगानी गर्न चाहेको बताएको बोर्डले जनाएको छ ।
एनआरएनएका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएन साथीहरू नेपालको पँुजी बजारमा संस्थागत रूपमा लगानी गर्न इच्छुक रहेकोले आवश्यक नीतिगत व्यवस्था गरिदिन बोर्डलाई अनुरोध गरेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुंजी बजारमा पूर्ण स्वचालित कारोबार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरूले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था भएको बताएका थिए । धितोपत्र बजार विस्तार तथा पहुँचमा वृद्धि जस्ता संरचनात्मक सुधार कार्यहरू भई धितोपत्र बजार लगानीका लागि बढी आकर्षक हुँदै गएको सन्दर्भमा एनआरएनएको पछिल्लो प्रस्तावलाई सकारात्मक रूपमा लिएको बोर्डले जनाएको छ । नेपालको धितोपत्र बजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न बोर्डले काम अगाडि बढाइसकेको कार्कीले बताएका थिए ।
डा. कार्कीले एनआरएनएका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा विज्ञ संलग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा वैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको जानकारी बोर्डले दिएको छ ।
एनआरएनएले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो, लिखित रूपमा जानकारी गराउन तथा उपयुक्त व्यवस्था सम्बन्धमा सुझावसमेत पेश गर्न आग्रह बोर्डले गरेको छ । एनआरएनएको लगानीका सम्बन्धमा निरन्तर छलफल तथा भेटघाट गर्दै जाने तथा प्राप्त सल्लाह तथा सुझावहरूको सम्बन्धमा अध्ययन गरी आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने बोर्डले जनाएको छ ।