Logo

नियमित विद्युत् आपूर्तिको माग

दाङ-जिल्लामा रहेको अनियमित विद्युत् आफूर्तिलाई नियमित गराउन माग गरेका छन् । अहिले जिल्लामा दिनहुँ आन्तरिक लोडसेडिङ तथा लोभोल्टेजको समस्या जिल्लावासीले भोग्दै आएका छन् । तुलसीपुर क्षेत्रमा दिनहुँ हुदै आएको आन्तरिक लोडसेडिङ तत्काल सुधार गर्न तुलसीपुर उद्योग वाणिज्य संघले माग गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण शाखा तुलसीपुरका कार्यालय प्रमुख दिलिपजंग चौधरीलाई तत्काल लोभोल्टेज र छिनमै विद्युत् जाने समस्याका समाधान गर्न माग गरेको छ । भोल्टेज र छिनमै विद्युत् जाने समस्याका कारण साना तथा ठूला उद्योग व्यवसायी तथा नागरिकलाई मारमा परेको भन्दै व्यवसायीहरूले ध्यानाकर्षण गराएका हुन् ।
संघका अध्यक्ष वीरबहादुर रावतले विद्युत् अनियमित हुँदा उद्योगहरूमा समस्या थपिएको बताए । उनले कम्पनीहरूमा कच्चा पदार्थ तयारी अवस्थामा रहने तर विद्युत् पटक–पटक काटिने समस्याका कारण अधिकांश साना तथा ठूला उद्योगहरूले घाटा बेहोर्नु परेको बताए ।
“यस क्षेत्रमा यस्तो समस्य वर्षौंदेखि झेल्दै आएका छौं । हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौं यस्तै समस्या दोहोरीय विद्युत् प्राधिकरणले व्यवसायी र उद्योगीलाई क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्छ,” अध्यक्ष रावतले भने । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख चौधरीले आफू तुलसीपुर सरुवा भएर आएपछि धेरै सुधारका कामहरू अगाडि सारेको भन्दै सेवाग्राहीलाई कसरी छिटोभन्दा छिटो सेवा प्रदान गर्ने भन्नेमा लागि परेको बताए । आफू आए लगत्तै दुइटा काउन्टरबाट बढाएर तीनवटा पुराएको र सेवाग्राहीलाई बस्ने स्थानको व्यवस्थापनसमेत गरेको र आन्तरिक सुरक्षालाई थप मजबुत पार्न सीसी क्यामराको व्यवस्थापन गरेको बताए । साथै उनले विद्युत्को सुधारका लागि आफूले क्षमता वृद्धि गर्न केन्द्र र स्थानीय स्तरमा भूमिका खेलिरहेको उनको भनाइ छ । कार्यालय प्रमुख चौधरीले अबको ६ महिनाभित्रै यस क्षेत्रका आम जनताले महसुस गर्ने गरी विद्युत्को सेवा स्तरवृद्धि गर्ने काम भइरहेको समेत बताए । उनले बजारमा जीर्ण अवस्थामा रहेका पोल र तारहरूको व्यवस्थापनका लागि टेन्डर गरिसकेको भन्दै अब नयाँ लाइनहरू अन्डर ग्राउन्ड सिस्टमबाट विस्तार गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्