किर्ते अभियोगमा सिलवालविरुद्ध जाहेरी दर्ता «

किर्ते अभियोगमा सिलवालविरुद्ध जाहेरी दर्ता

नेपाल प्रहरीले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी कागजात किर्ते अभियोगमा अनुसन्धान थालेको छ ।
प्रहरी महानिरीक्षक बढुवाविरुद्ध सर्वोच्च अदालतमा पेश गरिएको कार्यसम्पादन मूल्यांकनसम्बन्धी कागजात किर्ते गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्वडीआइजी सिलवालविरुद्ध अनुसन्धान अघि बढाएको हो ।
काठमाडौं प्रहरी परिसरले आईजीपी विवादमा सर्वोच्च अदालतबाट भएको फैसलाअनुसार कागजात किर्ते प्रकरणमा अनुसन्धान थालिएको जानकारी दिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार आईजीपी बढुवासम्बन्धी सिलवालबाट पेश भएको कागजात किर्ते अभियोगमा मुद्दाको अनुसन्धान सुरु भएको काठमाडौं प्रहरीले जनाएको छ । कठमाडौं परिसरमा मुद्दाको जाहेरीसँगै सिलवाल प्रहरीको फरार सूचीमा परेका छन् । उनलाई नियन्त्रणमा लिएर वा सामान्य तारेखमा राखेर अभियोगमाथि अनुसन्धान गर्न सकिने काठमाडौं परिसरका अधिकारीले बताएका छन् ।
परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले आईजीपी बढुवासम्बन्धी किर्ते कागजात छानबिनका लागि जाहेरी दर्ता भएको पुष्टि गर्दै कानुनअनुसार अघि बढ्ने प्रतिक्रिया दिएका छन् । “जाहेरी दर्ता भएको छ, अब कानुनअनुसार अघि बढ्छौं,” धानुकले भने ।
सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि उसको पद स्वतः निलम्बन हुने कानुनी प्रावधान छ ।
केहीदिन अघिमात्रै प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीसहितको ७ सदस्यीय बृहत् पूर्ण इजलाशले आईजीपी बढुवाविरुद्ध दायर रिटसम्बन्धी फैसलाको पूर्ण पाठ सुनाउँदै सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन विवरण सरकारले पेश गरेको विवरणभन्दा फरक परेको र यस्तो कागजात बनाउने कार्यमा संलग्नलाई अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको थियो ।
गत वर्ष फागुन २ गते सरकारले ०४४ सालमा प्रहरी सेवा प्रवेश गरेका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेपछि वरियताक्रममा एक नम्बरमा रहेको र आफू आईजीपी बन्नुपर्ने दाबीसहित सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट दायर भएकै दिन सर्वोच्चले चन्दको बढुवा कार्यान्वयन नगर्न आदेश दिएपछि मन्त्रीपरिषद् बैठकले प्रहरी अस्पतालका कार्यकरी निर्देशक एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त आईजीपीको जिम्मेवारी दिएको थियो ।
त्यहीक्रममा कार्यसम्पदन मूल्यांकनका आधारमा आईजीपी बढुवा गर्न सर्वोच्चले आदेश दिएपछि चैत २८ गते सरकारले प्रकाश अर्याललाई आईजीपमा बढुवा गर्यो । तर, भोलिपल्टै सिलवाल अर्यालको बढुवासमेत बदर गरी आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित पुनः सर्वोच्च पुगेमन थिए ।
सिलवालले त्यही बेला कार्यसम्पादन मूल्यांकन विवरणमा आफू पहिलो नम्बरमा रहेको विवरण पेश गरेका थिए । सिलवालको रिटपछि सर्वोच्चले अर्याललाई आईजीपी बढुवाको कारण देखाउ आदेश दिएपछि गृह मन्त्रालयले लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयबाट प्राप्त कार्यसम्पादन मूल्यांकन तथा सिलवालले पेश गरेको विवरण फरक परेपछि उनी विवादमा तानिएका थिए । सिलवालले पेश गरेको विवरणमा उनी नै पहिलो नम्बरमा थिए । तर, सरकारले अदालतलाई बुझाएको विवरणमा सिलवाल भन्दा अर्याल अगाडि देखिएपछि प्रहरी बढुवाको किर्ते प्रकरण सतहमा आएको थियो । सर्वोच्चले गत भदौमा सिलवालको रिट खारेज गर्दै अर्याललाई आईजीपी बढुवाको निर्णय सदर गरेपछि उनी डीआईजीबाट राजीनामा दिएर नेकपा एमाले प्रवेश गरेका थिए ।
त्यही प्रकरण अहिले सर्वोच्चको आदेशपछि जाहेरीको रूपमा काठमाडौं प्रहरीमा दर्ता भएको हो । सिलवाल एमालेको तर्फबाट सांसद निर्वाचित भए पनि शपथ भने लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्