Logo

नेपाल–भारत जोड्ने पुल बन्द

दार्चुला- नेपाल–भारत जोड्ने दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ५ तिगरममा रहेको झोलुङ्गे पुल बन्द भएको छ । शनिबार राति परेको अविरल वर्षासँगै तिग्रम पुलमा नेपालतर्फबाट पहिरो गएपछि पुलमा आवतजावत बन्द गरिएको हो ।
सस्पेन्सन ब्रीज डिभिजनमार्फत् २०७४ सालमा कञ्चनपुरको श्री मना-मालिका जेभीले निर्माण गरेको उक्त पुल पहिरोको उच्च जोखिममा रहेकोले आवत जावत बन्द गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।
तिग्रम पुलको ५१ मिटर माथिबाट पहिरो परेपछि पुलमा झण्डै २० लाख रुपैयाँबराबरको क्षति भएको छ । सोमबार जिल्ला समन्वय समिति अन्तर्गतको हेल्बीटास नेपाल, समाज कल्याण समाज दार्चुलाका झोलुङ्गे पुल कार्यक्रमका टिम लिडर रघुविरसिंह ठगुन्ना र सवओभरसियर राजेन्द्रसिह ठगुन्नाले पहिरोको नाप जाँच गरी क्षतीको विवरण निकालेका छन् । पुलछेउमा ३१ मिटर लम्बाईमा पहिरो गएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा रहेको तिग्रम पुल बन्द भए पछि व्याँस गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । दुई छाक टार्न पनि भारतीय बजारको भरमा रहेका व्याँसका स्थानीयहरुलाई बजार आउन जान समस्या भएको छ । नेपाल तर्फबाट दार्चुला सदरमुकाम खलंगा बजार आउन एक दिन लाग्ने र दैनिक उपभोग्य वस्तु किन्न समेत समस्या भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्