पिच गरेको महिना दिन नबित्दै एडीबी परियोजनाको सडक भत्कियो «

पिच गरेको महिना दिन नबित्दै एडीबी परियोजनाको सडक भत्कियो

जनकपुर-एसियाली विकास बैंकको ऋणमा निर्माण गरिएको सडक महिना दिन नबित्दै भत्किएको छ ।
जनकपुर उपमहानगरपालिकाभित्र निर्माणाधीन सडकमा ठेकेदारको लापारबाहीका कारण भ्वांग परी भत्किएको हो ।
गुणस्तरहीन सामग्रीको प्रयोग गर्दा निर्माण कार्य पूरा गर्न बाँकी रहेकै सडकमा ठूलो भ्वांग परेको छ । जनकपुर उपमहानगरपालिका–४ पिडिया माइस्थान क्षेत्रमा बलराम कन्स्ट्रक्सनले निर्माण गरिरहेको पक्की सडकमा ठूलो भ्वांग परेको छ ।
आफू मोटरसाइकलमा जाँदै गर्दा पक्की सडक अचान भासिएर भ्वांग परेको स्थानीय विक्की पाठकले बताए । निर्माण व्यवसायी र सम्बन्धित कार्यालयले कमिसनको खेलमा गुणस्तरहीन सडक निर्माण गरेको सडक निर्माणको लागि प्रयोग गरिएको अलकत्र हातले उकाल्दै पाठकले बताए ।
एक महिनाअघि मात्र पक्की गरिएको सडकमा भ्वांग पर्नु र हातैले अलकत्रसमेत निस्कनु सडकको गुणस्तरबारे पुष्टि गरेको त्यहाँको स्थानीयले बताए । बाहिरबाट हेर्दा सडक निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरेको देखिए पनि सडक पक्की गर्न प्रयोग गरिएको अलकत्राको गुणस्तरतर्फ ध्यान नदिइएको स्थानीयको भनाइ छ ।
जनकपुरस्थित मालपोत कार्यालयदेखि राराब क्याम्पससम्म ५२३ मिटर सडक निर्माण गर्न जनकपुरकै बलराम कन्स्ट्रक्सनले जिम्मा पाएको छ । २ करोड ६१ लाख ५४ हजार ५२२ रुपैयाँको लागतमा निर्माण भइरहेको सडकको चौडाइ ९ मिटर छ । सहरी डिभिजन कार्यालयले बनाउँदै गरेकोे उक्त सडक खण्ड अहिले निर्माणाधीन अवस्थामा छ । करिब सय मिटर सडक पक्की गर्ने काम अझ बाँकी रहेको छ । पटक पटक गुणस्तरमाथि प्रश्न उठे तापनि सम्बन्धित निकायले वास्ता गरेको छैन भने उच्च अदालत जनकपुरले तत्काल निर्माण नगर्न आदेश दिए पनि उपमहानगरपालिका जनकपुरले बेवास्ता गर्दै बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्