नयाँ सरकार पर्खंदै सेयर बजार

बाम गठबन्धनको बहुमत ल्याएसँगै सेयर बजारका लगानीकर्ता केही डराएको जस्तो देखिन्छ । गत साताको सेयर बजारमा सेयर परिसूचक (नेप्से) १० अंकले ओरालो लागेकाले पनि लगानीकर्ता केही हतोत्साहि भएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । तथापि ५ वर्षसम्म स्थायी सरकार आउने आशामा सेयर बजारमा खरिदकर्ताको चाप पनि पर्न लागेको देखिन्छ । गत बिहीबारको सेयर खरिद–बिक्री चापलाई हेर्दा आइतबार परिसूचक उकालो लाग्ने सम्भावना छ । कसको नेतृत्वको सरकार हुने र त्यो सरकाले आर्थिक नीति कस्तो ल्याउने भन्ने विषयमा लगानीकर्ताले बढी नै चासो लिएका छन् । स्थायी सरकारले विकास निर्माण राम्रोसँग गर्ला, समयमा नै बजेट ल्याई त्यसलाई कार्यान्वयन गर्ला भन्नेमा सबैले आशा लिएका छन् । साथै अब आउने अर्थमन्त्रीले पूँजी बजारको विकासमा पनि केही काम गर्लान् र दिर्घकालीन विकासका लागि अनलाइनलगायतका व्यवस्था पनि थप काम भएको खण्डमा अबका दिनमा सेयर बजारको भविष्य सकारात्मक नै हुनेमा सेयर विश्लेषकको आशा छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरूको कारोबार भएको छ । जस अनुसार २३७२७ कारोबारबाट दुई अर्ब ९२ करोड ८३ लाख ६ हजार रुपैयाँ बराबरका ५७ लाख ९५ हजार सात सय ३० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६१.५४ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीहरूको कारोबार भएको थियो । जस अनुसार १६१६५ कारोबारबाट एक अर्ब ८१ करोड २७ लाख ८२ हजार रुपैयाँ बराबरका ३३ लाख ७० हजार छ सय ८० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.३४ अंकले घटेर अन्तिम दिन १५२०.१५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.९७ अंकले घटेर ३२०.६५ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (४३ करोड ३६ लाख ८० हजार रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ८२ हजार कित्ता) को आधारमा ग्लोबल आइएई बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३६१६ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।