Logo

५ हजार व्यावसायिक फर्ममा अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गएको एक वर्षमा पाँच हजार व्यावसायिक फर्ममा अनुगमन गरेको छ । बजारमा हुने ठगी, कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गरी उपभोक्ता अधिकार सुरक्षित राख्न विभागले मुलुकभर ४ हजार ९ सय १५ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको हो । यो अवधिमा उपत्यकामा मात्र ४ हजार १ सय ५७ वटा फर्ममाथि अनुगमन गरिएको थियो ।
एक वर्षभित्र उपभोक्ता ठगी गर्ने ४३ वटा व्यावसायिक फर्मलाई कारबाहीका लागि मुद्दा दायर गरिएको विभागले जनाएको छ । बढी शुल्क लिई उपभोक्ता ठग्ने उपत्यकाका आठवटा अस्पताललाई कारबाही गरिएको छ । जसमा ग्रान्डी इन्टरनेसनल अस्पताल, नर्भिक इन्टरनेसनल अस्पताल, बाँसबारी न्यूरो अस्पताल, बीएन्डबी, बयोधा अस्पताल, इशान महिला तथा बालबालिका अस्पताल रहेका छन् ।
यस्तै छुटको बहानामा बढी मूल्य लिई उपभोक्ता ठग्ने न्युरोड र दरबारमार्गका १३ वटा फेन्सी पसललाई कारबाही गरिएको विभागले जनाएको छ । यस्तै कम गुणस्तरका, म्याद नाघेका र लेबल नभएका सामान बिक्री गर्ने १४ वटा खाद्यान्न पसललाई कालोबजारी ऐनअनुसार कारबाहीका लागि प्रहरीमा पेश गरिएको विभागले जानकारी दिएको छ । चर्काे शुल्क लिने पाँचवटा विद्यालयलाई पनि कारबाही गरिएको छ । कारबाही पर्नेमा रातो बंगला, प्रिमियर, जेम्स, युलेन्स र द चाँदबाग छन् । यस्तै विभागले बढी मूल्य लिएर बिक्री गर्ने मारुती, फोडलगायतका ५ वटा गाडीलाई पनि कारबाही गरेको छ ।
अनुगमनका क्रममा कैफियत भेटिएपछि ९३ वटा व्यवसायी फर्म बन्द गरिएको विभागले जानकारी दिएको छ । २ सय ४६ वटा व्यावसायीक कारोबार रोक्का गरेको विभागले ८७ जना व्यवसायीलाई स्पष्टीकरण सोधेको छ ।
यस्तै ९ सय १४ वटा फर्मलाई मूल्यसूची राख्न तथा अध्यावधिक गर्न निर्देशन दिएको छ । त्यस्तै ४ सय ९३ वटा फर्मलाई साइनबोर्ड राख्न निर्देशन दिएको र ६ सय ७३ व्यावसायिक फर्मले लेबल नभएका सामान बिक्री गरेको फेला परेपछि बिक्री नगर्न निर्देशन दिइएको छ । १ हजार १ सय ६९ फर्मलाई व्यवसाय दर्ता प्रमाणपत्र पेश गर्न तथा नापतौलका उपकरण राख्न विभागले निर्देशन दिएको छ । ३६ वटा व्यवसायी फर्मलाई खाद्य अनुज्ञापत्र पेस गर्न निर्देशन दिएको विभागले जानकारी दिएको छ । विभागले ४ सय ३६ वटा फर्मलाई सरसफाइमा सुधार गर्न निर्देशन दिएको छ ।
विभागले एक महिनाअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको निर्देशनमा बजार अनुगमन गरी ११ जना व्यसायीलाई प्रक्राउ गरेको थियो । त्यसपछि भने बजार अनुगमनको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले बजार अनुगमनलाई प्रभावकारी हुने गरी स्रोतमै अनुगमन गर्न लागिएको जानकारी दिए । “विभागले नियमितरुपमा बजार अनुगमन गरिरहेका छ,” महानिर्देशक गौचनले भने, “उपभोक्ताबाट ठगीको उजुरी आए अनुगमनसँगै कारबाही गर्न सहज हुने थियो ।” बजार अनुगमन गरिए पनि विभागलाई तत्काल कारबाही गर्ने अधिकार नहुँदा बजारलाई व्यवस्थित राख्न कठिन भएको उनले बताए । “उपभोक्ता संरक्षण ऐनलाई संशोधन गरेर तत्काल फिल्डमै कारबाही गर्ने व्यवस्था गर्न लागिएको छ,” उनले भने । बजार अनुगमनका कारण पछिल्लो समय बजारमा सामान्य सुधार देखिएको भन्दै उनले विभागमा जनशक्ति कम भएकाले केही समस्या रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्