अधिकांश दुर्घटना दिउँसो «

अधिकांश दुर्घटना दिउँसो

हेटौंडा- विभिन्न कारणले जुनसुकै समयमा पनि सवारी दुर्घटना भइरहेका हुन्छन् । तर, अधिकांश दुर्घटना कुन समयमा हुन्छन् भन्नेबारे भने कमैले मात्र विश्लेषण गरिरहेका हुन्छन् । मकवानपुर ट्राफिक प्रहरीले भने अधिकांश दुर्घटना दिउँसोको समयमा हुने गरेको तथ्य बाहिर ल्याएको छ ।
सडकमा सवारीको चाप बढी हुने र दिउँसोमा सवारी चलाउँदा चालकले बढी लापरबाही गर्ने गरेकाले बढी दुर्घटना दिउँसोमा हुने गरेको ट्राफिक प्रहरीको दावी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको एक आर्थिक वर्षको तथ्यांकअनुसार अपरान्ह १२ बजेदेखि साँझ ६ बजेको बीचमा ३० वटा दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७४-७५ मा मकवानपुरमा ६८ वटा दुर्घटना भएकोमा ३० वटा दुर्घटना भने दिउँसोकै समयमा भएका हुन् ।
त्यस्तै बेलुकी ६ बजेदेखि राती १२ बजेसम्मको समयमा पनि अधिकांश दुर्घटना हुने गरेको तथ्यांक छ । एक वर्षको अवधिमा बेलुकी ६ देखि १२ बजेसम्मको समयमा २२ वटा दुर्घटना भएका छन् । रातको १२ बजेदेखि बिहान ६ बजेसम्मको समयमा भने सबैभन्दा कम दुर्घटना हुने गरेको देखिएको छ । एक वर्षभित्र सो समय अवधिमा जम्मा २ वटा मात्र दुर्घटना भएका छन् । बिहान ६ बजेदेखि १२ बजेसम्मको समयमा पनि एकवर्षभित्र १४ दुर्घटना भएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रकुमार यादवले जानकारी दिए ।
ट्राफिकका अनुसार सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीको कारण हुने गरेको छ । चालकको लापरबाहीको कारण एक वर्षमा मकवानपुरमा ४५ वटा दुर्घटना भएको ट्राफिकको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै तीव्र गतिका कारण १३ वटा दुर्घटना भएका छन् भने पैदलयात्रुको गल्ती र सडकको अवस्थाको कारणले गर्दा २-२ वटा दुर्घटना भएका छन् । एकवर्षको अवधिमा ओभरटेकको कारण ३ वटा, मादक पदार्थ सेवनका कारण २ र यान्त्रिक गढबढीको कारण एउटा दुर्घटना भएको ट्राफिक प्रमुख यादवले बताए ।
बितेको आर्थिक वर्षमा ६८ वटा दुर्घटना भएकोमा ८४ वटा सवारी साधन संलग्न रहेका थिए । जसमा ५८ जनाको मृत्यु भएको थियो । जसमा ३५ जना गम्भीर घाइते र ४२ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सबै दुर्घटनामा गरी ४३ जना पुरुष, १० जना महिला, ४ जना बालक र एकजना बालिकाको मृत्यु भएको थियो ।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेको देखिएको छ । एकवर्षको अवधिमा भएको दुर्घटनामा ३२ वटा मोटरसाइकल, २७ वटा ट्रक, ट्याङ्कर,ट्रिपर र १३ वटा टेक्कर संलग्न रहेको देखिन्छ । त्यस्तै ९ वटा बससमेत दुर्घटनामा संलग्न थिए । सोअवधिमा हाइवेमा सबैभन्दा बढी दुर्घटना भएको देखिएको छ । हाइवेमा ४४ दुर्घटना भएकोमा ग्रामीण सडकमा १६ सहरी सडकमा ८ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

२६ हजार सवारी कारबाहीमा
मकवानपुरमा एक वर्षको अवघिमा २६ हजार एकसय सवारी साधन कारबाहीमा परेका छन् । नियमबिपरित सवारी चलाउने सवारी साधनलाई कारबाही गरेर ट्राफिक प्रहरीले एक करोड ६४ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । एकवर्षको अवधिमा सबैभन्दा बढी बस, ट्रिपर, ट्याङ्कर कारबाहीमा परेका छन् ।
७ हजार ८ सय ५ वटा बस, ट्रिपर, ट्याङ्कर कारबाहीमा परेकोमा ५२ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी ६ हजार एक सय ५२ वटा मोटरसाइकल कारबाहीबाट ३८ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । त्यसैगरी ५ हजार एकसय ९४ वटा जीप-कारलाई कारबाही गरेकोमा ३० लाख ८१ हजार रुपैयाँ संकलन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्