दोलखाका आधा भूकम्पपीडितले बुझे तेस्रो किस्ता «

दोलखाका आधा भूकम्पपीडितले बुझे तेस्रो किस्ता

दोलखा-दोलखामा आधाभन्दा बढी भूकम्पपीडितले तेस्रो किस्ता रकम बुझेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखा सचिवालयको कार्यालयका अनुसार आधाभन्दा बढीले निजी आवास निर्माणतर्फ असार मसान्सम्म निजी आवास निर्माण सम्पन्न गरेर रकम बुझेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका अनुसार असार मसान्तसम्म कुल ३५ हजार ७१७ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् । । कुल लाभग्राही सूचीमा परेका ७० हजार ७०८ मध्ये ६० हजार ७४६ लाभग्राहीले अनुदान सम्झौता गरेको प्राधिकरण चरिकोटले जनाएको छ । निजी आवास निर्माण गरी तेस्रो किस्ता लिनेमा नगरपालिकाभन्दा गाउँपालिकामा बढी छन् ।
निजी आवास निर्माणतर्फ सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकाका ५ हजार ६६१ भूकम्प पुनर्निर्माण लाभग्राहीले निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन् । यसैगरी तेस्रो किस्ता बुझ्ने लाभग्राहीमा वैतेश्वर गाउँपालिकाका ५ हजार ९२, तामाकोसी गाउँपालिकाका ४ हजार ४६७, गौरीशंकर गाउँपालिकाका ४ हजार २१३ तथा भीमेश्वर नगरपालिका ३ हजार ७४९ रहेका छन् ।
यस्तै मेलुङ गाउँपालिकाका ३ हजार ७४७, विगू गाउँपालिकाका ३ हजार ५५६, शैलुङ गाउँपालिकाका ३ हजार १ सय चार तथा जिरी नगरपालिकाका २ हजार १२८ लाभग्राहीले निजी आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन् । कतिपय लाभग्राही भने तेस्रो किस्ता भुक्तानीको प्रक्रियामा रहेको पुनर्निर्माण प्राधिकरण दोलखाले जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले थुप्रै काम बाँकी हुँदाहुँदै पनि दोलखाको प्रगति राम्रो देखिएको बताए । लाभग्राहीदेखि भवन निर्माण डिभिजनसम्मको बीचमा हुने कमजोरी पत्ता लगाएर काम अगाडि बढाएका कारण दोलखा जिल्लाको पुनर्निर्माण एउटा उचाइमा पुगेको कार्यालय प्रमुख आचार्यको दाबी छ ।
सरकारले असार मसान्तसम्म दोस्रो किस्ता लिनका लागि ताकेता गरे तापनि दोलखामा भने २ तिहाइ बढीले घर बनाइसकेका छन् । “किस्ता बुझ्नेहरू आधामात्र छन्, कतिपय प्रक्रियामा छन्,” वैतेश्वर गाउँपालिका उपाध्यक्ष रवीचन्द्र आचार्यले भने, “किस्ता लिन बैंकको समस्या, मूल्यांकनमा ढिलाइ लगाएका कारण तथ्यांक कम देखिएको हो ।”
भूकम्प निजी आवास पुनर्निर्माणतर्फ दोलखाको प्रगति सबै भन्दा अगाडि रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकले देखाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार दोलखामा ३६ हजार ६ सय घर निर्माण सम्पन्न भइसकेका छन् भने सिन्धुपाल्चोकमा ३१ हजार ११५ निर्माण सम्पन्न भएका छन् ।

पुनर्निर्माणको रकम नआएपछि भूकम्पपीडित समस्यामा
अर्जुन बस्नेत
भोजपुर
भूकम्प गएको तेस्रो वर्ष बित्दासमेत घर पुनर्निर्माणको रकम निकासा नभएपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका भूकम्पपीडित समस्यामा परेका छन् ।
घर निर्माणको डीपीसी ढलानको चरण सम्पन्न भएपछि घर निर्माण अनुदान रकम पाउनुपर्ने पीडितले घर निर्माणकार्य सकेको महिनौ बितिसक्दा समेत अनुदानको दोस्रो किस्ता निकासा नपाएपछि भूकम्पपीडित झन पीडामा परेका हुन् । घर निर्माणका लागि खर्च भएको आर्थिक ब्यवस्थापन गर्न नसक्दा पीडितहरू झनै समस्यामा परिरहेको पीडितहरुले दुखेसो राख्ने गरेका छन् । घर निर्माणका लागि लगाइएको ज्यामी तथा सिकर्मी डकर्मीको ज्यालासमेत हालसम्म दिन नसकेको गत फागुन महिनामा घर निर्माण सम्पन्न गरेका गाउँपालिका–१ तिम्माका स्थानीय खगेन्द्र विष्टले बताए ।
कतिपय पीडितले भने वित्तीय संस्था तथा ब्यक्तिसँग ऋण लिएर तत्कालका लागि खर्च ब्यवस्थापन गरिरहेका छन् । घर बनाउँदा लागेको खर्चका लागि लिएको ऋण तिर्ने बेला भइसक्यो, अनुदान रकम चाँडै आउँछ र तिर्ने आशाका साथ बसेको धेरै भयो तर असार महिनामा त आउला भनी कुरेको तर नआउँदा आफूलाई ठूलो समस्या परेको स्थानीय कुवीरधन राईले गुनासो ब्यक्त गरे । गाउँपालिकाको वडा नम्बर १ तिम्मामा जम्मा ४१ घर पूर्ण क्षति प्रमाणीकरण भएकोमा हालसम्म ६ घर पीडितको मात्र दोस्रो किस्ता अनुदान आएको छ । टेम्केमैयुङ गाउँपालिकामा ६०१ घर लाभग्राही पीडित भए तापनि १९८ घर प्रमाणीकरण भइसकेको र हालसम्म ८१ घर पीडितको दोस्रो किस्ता रकम निकासा भएको भूकम्प पुनर्निर्माण प्राधिकरण टेम्केमैयुङ गाउँपालिकाका प्राविधिक अर्जुन चौलागाईंले जानकारी दिए । प्राविधिक चौलागाईंले पीडितहरूको आवश्यक कागजात पुनर्निर्माण प्राधिकरणको केन्द्रमा पठाएको र पास भएका घरको दोस्रो किस्ता रकम चाँडै आउने आश्वासन दिएका छन् । पीडितहरूको भने यो असारमा अनुदान आउने आशा पूरा नहुदा चिन्तामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्