Logo

पश्चिमाञ्चलमा ६९ प्रतिशत धान रोपाइँ

पोखरा-पश्चिमाञ्चल क्षेत्रमा असार मसान्तरसम्म ६९ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । क्षेत्रीय कृषि निर्देशनालयले दिएको तथ्यांकअनुसार असारको अन्तिम सातासम्म पश्चिमाञ्चल क्षेत्रमा ६९ प्रतिशतले १ लाख १९ हजार ५ सय ५९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । ३१ प्रतिशत अर्थात ५३ हजार ७ सय १९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनत बाँकी रहेको छ । चैते धानसहित पश्चिमाञ्चल क्षेत्रमा धान रोपाइँ ३ लाख १५ हजार ४ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको क्षेत्रिय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत ईश्वरी अर्यालले बताए । चैते धानबाहेक वर्षे धान पश्चिमाञ्चलमा १ लाख ७३ हजार २ सय ८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको अर्यालले जनाए ।
यसरी हेर्दा कास्कीमा भने करिब ९० प्रतिशत भन्दा बढी धान रोपाइँ भएको छ । कास्कीमा २१ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा धान हुने भए पनि हालसम्म ९० प्रतिशतले हेर्दा १९ हजार १ सय २३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि प्रसार अधिकृत अर्यालले बताए । सबैभन्दा बढी नवलपरासीमा ९२ प्रतिशत र सबैभन्दा कम अर्घाखाँचीमा ४० प्रतिशत मात्र धान रोपिएको उनले जनाए । नवलपरासीमा ४० हजार ३ सय २० हेक्टरमा धान खेती हुने भए पनि हालसम्म ९२ प्रतिशतले ३७ हजार ९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । अर्घाखाँचीमा २ हजार ४ सय ५६ रोपनी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म ४० प्रतिशतले हेर्दा ९ सय ८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यस्तै रुपन्देहिमा ३४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमध्ये ६० प्रतिशत अर्थात २० हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।
कपिलवस्तुमा ५० प्रतिशत अर्थात १२ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कपिलवस्तुमा २५ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गोर्खामा ५० प्रतिशत अर्थात २ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । तनहुँमा ६० प्रतिशत, म्याग्दीमा ५३ प्रतिशत, बागलुङमा ६० प्रतिशत, पर्वमा ५० प्रतिशत, स्याङजामा ८० प्रतिशत, पाल्पमा ५० प्रतिशत, गुल्मीमा ४५ प्रतिशत धान रोपाइ भएको छ ।
आर्थिक बर्ष २०७५-०७६ को साउन एक गते देखि क्षेत्रिय कृषि निर्देशनालय कुन निकायसंग समायोजना हुने र त्यहाँ कार्यरत कर्मचारी कुन निकायमा काम गर्ने सोको बारेमा हालसम्म अन्यौलता रहेको छ । स्थानीय, प्रदेश र संघीय सरकार मध्य कुनै सरकारले कायालयमा कार्यरत कर्मचारीहरूलाई प्रष्टसँग कहाँ र कुन कामको लागि खटिने भन्ने हालसम्म प्रष्ट नीति नआएको कृषिप्रसार अधिकृत अर्यालले बताए । कास्कीमा प्रायः गरी जेठोबुढो, राधान, खुमल ४, खुमल ८, खुमल १०, सुक्खाधानलगायतका धानको जात हुने गरेको छ । मकैबारी तथा केही टारी खेतमा धान रोप्न बाँकी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्