कतार संकट लम्बिँदा नेपाली कामदारको माग घट्यो «

कतार संकट लम्बिँदा नेपाली कामदारको माग घट्यो

नेपालको प्रमुख रोजगार गन्तव्य मुलुकको रूपमा रहँदै आएको कतारमा ७ वटा छिमेकी राष्ट्रले कुटनीतिक सम्बन्ध रोक्का गरेपछि कतारबाट आउने नेपालीको माग घटेको छ । अन्य क्षेत्रको तुलनामा निर्माण क्षेत्रमा जाने कामदारका लागि आउने माग घटेको हो ।कतारको व्यापार, व्यवसाय र उद्योग कलकारखाना आयातमुखी रहेका कारण कुटनीतिक अवरोधले रोजगारीका थप सम्भावना बन्द भएपछि कतार जाने नेपालीको संख्यामा कमी आएको हो । गत आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा कामदारको मागमा ८ हजार ६ सय ५९ जना कमी आएको छ । गत वर्षको पहिलो ४ महिनामा संस्थागत र व्यक्तिगत ( नवीकरण, नयाँ प्रवेश तथा वैधानिकीकरण) गरेर ६४ हजार ४ सय ७० जनाले कतार जान अन्तिम श्रम स्विकृति लिएका थिए । तर चालू आर्थिक वर्षमा यो संख्या घटेर ५५ हजार ८ ११ पुगेको छ । यस्तै, कतारमा रोजगारी गुमाएर स्वदेश फर्कने नेपालीको संख्यामा पनि वृद्धि भइरहेको छ । कतारबाट फर्कने नेपालीको संख्या बढी भए पनि सो अनुपातमा जाने संख्या भने तुलनात्मक रूपमा बढी रहेको पाइन्छ ।
विभिन्न अरब मुलुकले कतारमाथि प्रतिबन्ध लगाएसँगै अर्थतन्त्र संकटमा परेपछि कतारमा कार्यरत नेपाली कामदार जानेभन्दा फर्कने क्रम बढेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले कुटनैतिक सम्बन्ध सुधारको लामो प्रतिक्षापछि पनि सम्बन्धमा सुधार नआउने देखेर रोजगारदाताले कामदार कटौती गर्दा नेपाली कामदार फर्कनुपरेको बताए । कतारमा संकट निम्तिएको भनेर नेपाली कामदार स्वदेश फर्कने क्रम बढेपनि मुलुकभित्र रोजगारीका अवसर नहुँदा युवाहरूको कतार जाने संख्यामा प्रभाव नपरेको सरकारी दाबी छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको काठमाडौं कार्यालयका अनुसार कतार जानका लागि दिनहुँ ३ सयदेखि ३ सय ५० जनाका दरले अन्तिम श्रम स्वीकृति लिने गरेका छन् । अन्तिम श्रम स्वीकृति लिएकामध्ये ९० प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा जाने गरेका छन् । कार्यालयका प्रमुख तेजराज पाण्डेले अरब मुलुकको प्रतिबन्धले कतारको निर्माण क्षेत्रमा जानेको कामदारको संख्यामा कमी आएको बताए । “कतारमा मात्र होइन समग्र खाडी मुलुकबाट नै कामदारको माग कमी आएको छ,” उनले भने, “आउने कामदार बढी भए पनि कतारका अन्य क्षेत्रको माग तुलनात्मक रूपमा कमी आएको छैन ।” कार्यालय प्रमुख पाण्डेले कतार जाने कामदारको संख्या कमी नआएको बताए पनि गत वर्षको यही अवधीको तुलनामा कतार जाने कामदारको संख्यामा कमी आएको तथ्यांकले देखाउछ । कार्यालयको तथ्यांकअनुसार कतारमा रोजगारीका लागि कात्तिक महिनामा संस्थागततर्फ ७ हजार ५ सय ३९ जनाले तथा व्यक्तिगततर्फ ८ हजार ७ सय १८ जनाले अन्तिम स्वीकृति लिएका छन् । कार्यालयका प्रमुख पाण्डेले निर्माण क्षेत्रमा जाने कामदारको संख्यामा केही प्रभाव परेपनि सेवा र अन्य क्षेत्रमा रोजगारी गर्न जानेको संख्या भने यथावत रहेको जानकारी दिए ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ३ महिनाको वित्तीय प्रगति प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या पुनः श्रम स्वीकृतिबाहेकमा कमी आएको उल्लेख छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.१ प्रतिशतले घटेको राष्ट्र बैकको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा गिरावट आएको छ ।
सन् २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटवलका लागि आवश्यक पर्ने भौतिक संरचना हाल धमाधम निर्माण भैरहेका भएपनि छिमेकी राष्ट्रसँगको सम्बन्धले केही कमी भएको छ । कामका लागि कतार जाने नेपालीले मूख्य रूपमा निर्माण, सेवा तथा केही प्राविधिक क्षेत्रमा अक्ष, अर्धअक्ष र अदक्ष कामदारका रूपमा काम गर्ने गरेका छन् । नेपालीले कतारमा गाडी चालक, सुरक्षा गार्ड र होटल तथा कारखानाहरूमा रोजगारी पाउने गरेको छन । मिडिल इस्टइकोनोमिक डाइजेस्टले गरेको अनुमानअनुसार कतारमा सन् २०२२ मा हुने फिफा वल्र्डकपको आयोजना गर्न आवश्यक स्टेडियम र अन्य आवश्यक निर्माण लगायतका विभिन्न कार्यका लागि सन् २०१२ र २०२० को बीचमा कतारी सरकारले ११७.५ अर्ब अमेरिकी डलर बराबरको खर्च गर्ने योजना बनाएको थियो । विकासको बढ्दो गतिको कारणले गर्दा कतारी कम्पनीहरूका अलावा विश्वका अन्य भागका कम्पनीहरू पनि आकर्षित भए पनि हाल ति कम्पनी कतारमा लगानी गर्न हिचकिचिएका छन । कतारले निर्माण, खाद्यान्न लगायत कच्चा पर्दाथ विदेशबाट आयत गर्ने गरेका कारण हाल आन्तरिक खपतका लागि अत्यावश्यक कच्चा पर्दाथ वैकल्पिक मार्गबाट महँगो मूल्यमा आयात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्