पर्यटकीयस्थल र होटल करको दायरामा

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानुन र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो ।
घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडालगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताए । चालू आर्थिक वर्ष २०७४-७५ मा भुरुङ तातोपानी कुण्डबाट २५ लाख र पुनहिलबाट पाँच लाख ५० हजार कर संकलन गरेको थियो । आगामी आर्थिक वर्ष २०७५÷७६ मा पुनहिलबाट २५ लाख र घोडेपानीबाट १५ लाख कर उठाउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।
उठेको कर सम्बन्धित ठाउँको विकासका लागि ७० र ३० प्रतिशत गाउँपालिकाले अन्य क्षेत्रमा परिचालन गर्ने अध्यक्ष पुनले बताए । अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य पर्यटकीय गन्तव्य घोडेपानी पुनहिल क्षेत्रमा हालसम्म स्थानीय होटल व्यवस्थापन उपसमिति र युवा क्लबले कर उठाउँदै आएका छन् । स्थानीय सामाजिक संघसंस्था परिचालन गरेर कर संकलन गर्ने नीति गाउँपालिकाले लिएको छ । यसैगरी जलविद्युत् आयोजनाबाट समेत वार्षिक १५ हजार प्रतिमेगावाट कर उठाउने निर्णय भएको छ ।
दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।
क्रसर उद्योगलाई वार्षिक ५० हजार रुपैयाँका दरले कर निर्धारण गरिएको छ । गाउँपालिका–५ पाउद्वार र वडा नं ६ घारको रातोपानी कुण्डबाट समेत वार्षिक ५०-५० हजार कर उठाउने भएको छ । तौल बढी भएका उपकरण सूचीकृत हुन वार्षिक २० हजार कर तिर्नुपर्ने भएको छ ।
सहायक सडकमा सञ्चालन हुने बसलाई वार्षिक १२ हजार, जीपलाई १० हजार र ट्र्याक्टरलाई १५ हजार रुपैयाँ कर निर्धारण गरिएको छ । होटललाई पाँच वर्गमा विभाजन गरेर वार्षिक करको दर निर्धारण गरिएको छ ।
(क) वर्गलाई २० हजार, (ख) लाई १० हजार, (ग) लाई पाँच हजार, (घ) लाई दुई हजार र (ङ) लाई एक हजार रुपैयाँ कर निर्धारण गरिएको छ । गाउँपालिकाका वडामार्फत व्यवसाय दर्ता अभियान सञ्चालन गरिएको वडा नं ६ का अध्यक्षसमेत रहेका प्रवक्ता बरुवालले बताए । २९ करोड रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले १ करोडभन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले बताए ।