Logo

पारदर्शी र स्वच्छ व्यापार गर्न महासंघको आग्रह

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघले सरकारको बजार अनुगमनलाई सहयोग गर्न सम्बद्ध व्यापारी तथा व्यवसायीहरूलाई आग्रह गरेको छ । महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै व्यावसायिक सदस्य संघ–संस्थामार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार व्यवसाय गर्न आह्वान गरेको हो ।
महासंघले डर, त्रास र भयमुक्त भै स्वच्छ व्यापारका लागि बिनादर्ता, वा बिल बिजक जारी नगरी, न्यून मूल्यमा, कम वा बढी परिमाण गरी हुने वस्तु तथा सेवाको कारोबार गर्ने वा गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिष्कार तथा तीनको परिचयसमेत सार्वजनिक गर्न अनुरोध गरेको छ । उत्पादन, थोक तथा खुद्रा तह एवं उपभोक्ताहरूले आफूले खरिद, बिक्री गरेको वस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बिल बिजक लिएर वा दिएरमात्र कारोवार गर्न पनि महासंघले आग्रह गरेको छ ।
“सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्छ भन्ने कुरामा दृढ छ ।” विज्ञप्तिमा उल्लेख छ । आफूले खरिद गर्ने सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भए÷नभएको एकिन गरी खरिद बिक्री गर्न, उपभोग्य मिति गुज्रेको माल वस्तु बिक्री वितरण नगर्न, कानुनले तोकेको अत्यावश्यक वस्तुहरूको सीमाभित्र रहेर मूल्य र नाफा लिई सामान बिक्री वितरण गर्न महासंघले आग्रह गरेको छ । बिल बिजक जारी गर्न, सबैले देख्ने गरी अत्यावश्यक वस्तुहरूको मूल्यसूची राखेर वा सकभर वस्तुमै मूल्य राखेर कारोबार गर्न÷गराउन महासंघ सबै व्यवसायीहरूमा महासंघको आग्रह छ । “बजारलाई स्वच्छ र पारदर्शी बनाई आम उपभोक्तालाई गुणस्तरीय सेवा दिन निजी क्षेत्र सदैव तयार र प्रतिबद्ध छ । गैरकानुनी कार्य गर्नेलाई सदैव कानुनको दायरामा ल्याउनु पर्ने र स्वच्छ व्यापार व्यवसाय गर्नेले निर्वाध व्यापार व्यवसाय गर्न पाउनुपर्नेमा महासंघको जोड छ ।” विज्ञप्तिमा उल्लेख छ ।
यथार्थ मूल्यमा आयात, निर्यात र कारोबार गराउन सरकारबाट पनि हालका विद्यमान करका दरहरू न्यूनतम कायम गरी खुला सिमानाबाट भइरहेको अनधिकृत व्यापार नियन्त्रणमा सून्य सहनशीलता राख्नसमेत अनुरोध महासंघले गरेको छ । सीमापारी करका दर कम रहेका वस्तुहरूमा स्वदेशमा लाग्ने कुल कर राजस्व समयमै समायोजनका गर्नुपर्ने देखिएको छ । साथै बजार अनुगमनका लागि विधि, प्रक्रिया तयार गर्ने र यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउन मूल्यसूची, नापतौल, गुणस्तर गर्न सम्बद्ध व्यवसायीमा आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्