Logo

निर्माणाधीन सबै पुल यसै आवमा सकिने

महेन्द्रनगर-कञ्चनपुरको वेतकोट नगरपालिकामा निर्माणाधीन सबै पक्की पुल यसै आर्थिक वर्षभित्र सकिने भएका छन् । नगरपालिकामा निर्माण भइरहेका पुलको निर्माण कार्यमा उत्साहजनक प्रगति रहेको भन्दै असार मसान्तअघि नै नगर परिसरभित्रका नयाँ पुराना गरी सबै पक्की पुल निर्माण सम्पन्न हुन लागेका हुन् ।
नगरपालिकाभित्र निर्माण भइरहेका ९ वटा पक्की पुलमध्ये ४ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । वेतकोट १ र २ वडा जोड्ने पथरिया नदीको पुल, २ र ३ वडा जोड्ने जडेपानीको पुल, वेतकोट ३ स्थित खलगौडी नदीको पुल र वेतकोट नगरपालिका–१० स्थित कनकट्टी पुलको निर्माणकार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए । चन्दका अनुसार ४ वटा पक्की पुलको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ५ वटा पक्की पुलको निर्माणकार्य चलिरहेको छ ।
“कोरोना कहरका बीचमा पनि नगरपालिकाभित्र निर्माण भइरहेका पक्की पुलको प्रगति निराशाजनक भने छैन ।” नगर प्रमुख अशोककुमार चन्दले भने, “बाँकी निर्माणाधीन पक्की पुल असार मसान्तसम्म सक्ने गरी काम गर्न निर्देशित गरिएको छ, बाँकी ५ पक्की पुलमध्ये पनि सबै जसो पुल असारभित्रै सम्पन्न हुन्छन् ।” लामो समयदेखि ठेकेदारले काम गर्न छोडेको वेतकोट नगरपालिका–१० स्थित बल्मा नदीको पुलको निर्माणकार्य पनि अघि बढेको उनले बताए ।
यस्तै वेतकोट नगरपालिका–४ स्थित बैतडा नदीको पुलको निर्माणकार्य पनि ३ महिनाभित्र सम्पन्न हुने चरणमा छ । यसैगरी वेतकोट नगरपालिका ४ र ३ जोड्ने भम्का नदीको पुल, वेतकोट नगरपालिका ६ र ७ जोड्ने मुसेपानी खोलाको पुल, वेतकोट नगरपालिका ५ र ६ जोड्ने सिशैयाको पुललगायत ५ पक्की पुलको अहिले निर्माणकार्य चलिहरेको छ ।
“पुलको निर्माणमा कहीं कतै केही कमजोरी भएको छ ।” प्रमुख चन्दले भने, “पुल निर्माण क्षेत्रमा देखिएका ढिलासुस्ती तथा कमजोरीलाई सुधार गर्नका लागि निर्देशित गराइनेछ ।”
नगरपालिकाले आर्थिक वर्षभित्रै निर्माणाधीन पुलको निर्माणकार्य सम्पन्न गर्नेछ भने बाँकी नयाँ ३ वटा पक्की पुलको पनि निर्माणकार्य सुरु गरिने नगर प्रमुख चन्दले बताए । नगर प्रमुख चन्दका अनुसार नगर क्षेत्रमा आवश्यक पर्ने ठाउँमा पनि नगरपालिकाले थप पक्की पुल निर्माण गर्नका लागि माटो परीक्षण गर्ने कार्य सुरु गर्नेछ ।

समयमै सम्पन्न गराउन पत्राचार गर्दै सडक कार्यालय
जिल्लामा निर्माणाधीन पक्की पुलको निर्माण समयमै सम्पन्न गराउन डिभिजन सडक कार्यालय महेन्द्रनगरले ठेकेदार कम्पनीलाई पत्राचार गर्न सुरु गरेको छ । लामो समयदेखि कामदार अभाव भन्दै निर्माणाधीन पुलको ठेक्का रोकेर बस्ने ठेकेदार कम्पनीलाई निर्माणकार्य ढिलो नगर्न डिभिजन सडक कार्यालयले पत्राचार गर्न लागेको हो । वेतकोट नगरपालिका–१० हुलाकी राजमार्गस्थित बल्मा नदीमा बन्दै गरेको पुल पनि लामो समयदेखि ठेकेदारले निर्माणकार्य गर्न छोडेको छ ।
तर अहिलेको कोरोना महामारीसँगै जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको हुनाले सडक कार्यालयले बल्मा नदीको पुल निर्माणलाई अघि बढाउन ठेकेदार कम्पनीलाई पत्राचार गरेकोे छ । यस्तै वेतकोट नगरपालिका लगायत जिल्लाका अरु निर्माणाधीन पुलमा पनि ठेकेदारले निर्माणकार्यमा ढिलासुस्ती गरेको अवस्थामा पहिलो चरणमा पत्राचार गर्ने र पछि काम सुचारु नभएको खण्डमा आवश्यक कारबाही गरिने कार्यालयको तयारी छ ।
“पत्राचार गरेको केही समय भएको छ, निर्माण बन्द गरेको पुलमा पहिलेको भन्दा अहिले पुलको ढलानलगायत स्ल्याब हाल्ने कार्य सुचारु भएको छ ।” डिभिजन सडक कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले भने, “जिल्लाका आधा अधुरा पक्की पुलमा भएका ढिला सुस्तीलाई समयमै सम्पन्न गराउन कार्यालय नै प्रतिबद्ध रहेको छ ।” निर्माण भएपछि पनि ठेकेदार कम्पनीको कमी कमजोरी भएको हवस्थामा सुधार गर्न लगाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्