कोरोना कहरमै सडक निर्माण तीव्र «

कोरोना कहरमै सडक निर्माण तीव्र

कृञ्जला पुलामी
सिन्धुली-
कोरोना महामारीको त्रासका बीच सिन्धुलीमा सडक निर्माणको काम धमाधम सुरु भएको छ । आवश्यक स्वास्थ्य सर्तकता अपनाउँदै जिल्लाका विभिन्न स्थानमा करोडौंको लगानीमा सडक निर्माण थालिएको हो ।
बागमती प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामदेखि ग्रामीण भेगसम्म पुग्ने सडकको काम अहिले धमाधम भइरहेको छ । सिन्धुलीगढी नागी सडक, तारुफेदिदेखि चपैली हुँदै खुर्कोट जोड्ने सडकको काम अघि बढेको छ । प्रदेश सरकारकै लगानीमा सिन्धुलीगढी सोलाभञ्ज्याङ हुँदै नागी मझुवासम्मको सडकको निर्माण कार्य तीव्ररुपमा अघि बढीरहेको छ । बागमती प्रदेशको २१ करोड सहयोगमा निर्माण सुरु गरिएको हो । १० किमिको उक्त सडकको काम हालसम्म ४० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा सडक कालोपत्रे गरिसक्ने लक्ष्य छ ।
कमलामाई नगरपालिका–३ तारुफेदिदेखि चपैली हुँदै खुर्कोट जोड्ने सडकको पनि निमार्ण कार्य सुरु गरिएको छ । भदौ पहिलो सातादेखि सुरु गरिएको निर्माण कार्य चालु आवमा नै सम्पन्न गरिने बताइएको छ । सो सडकको ग्रावेलसम्मको कामका लागि प्रदेश सरकारको २१ करोड सहयोग उपलब्ध भएको प्रदेश सभा सदस्य विनोद खड्काले जानकारी दिए ।
उनका अनुसार कमलामाई नगरपालिका–७ बुद्धनगर चोक हुँदै कमलामाई नगरपालिका–१२ जिर्गा जाने सडकको पनि निमार्ण सुरु हुने भएको छ । बागमती प्रदेशको ५६ करोड लागतमा बुद्धनगर चोक ¬भिमस्थान ¬चकमके–कटारी हुँदै जिर्गासम्मको १५ किमि सडक कालोपत्रे गर्ने योजना रहेको छ । “यतिबेला आधाउधी काम गरिसक्नु पर्ने, तर कोरोनाले गर्दा अलि ढिला भएको छ” खड्काले भने, “अब सुरक्षित भएर छिटै काम सुरु गर्दैछौँ, केही ढिला भएपनि गुणस्तरिय काम हुनेमा म आशावादी छु ।” भदौ अन्तिमबाट काम सुरु गरी आव २०७७÷०७८ मा निमार्ण सम्पन्न गरिने बताइएको छ ।
यस्तै उनकै पहलमा कमलामाई नगरपालिका २ पिपल भन्ज्याङबाट निवुवाटार हुँदै घ्याङलेख गाउँपालिकासम्मको सडक निमार्णका लागि पनि बजेट विनियोजन भएको छ । प्रदेशको २२ करोड सहयोगमा २१ किमि निमार्ण हुने उक्त सडकको पनि काम भदौ अन्तितमबाटै सुरु गरिने खड्काले बताए ।
निर्वाचनका बेला सडक निर्माण तथा स्तरोन्नती र पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएका खड्काले जनताको आवश्यकता र चाहाना अनुरुप नै विकासको काम भइरहेको बताए । गाँउ–गाँउमा सडक विस्तारसँगै ग्रामीण भेगका कृषिउपजले सहजै बजार पाउने तथा रोजगारीको सिर्जना हुने उनको अपेक्षा छ । सोही अनुरुप सडक निर्माणको कामलाई तिव्रता दिइएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्