Logo

मंगलबार कारोबारमा आएका व्यापार, उत्पादन र म्युचुअल फण्डबाहेक सबै समूहको सूचक सकारात्मक रहेका छन् ।

निषेधाज्ञापछि सेयर बजार ५० अंकले बढ्यो


कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भएपनि सेयर कारोबार प्रभावित भएको छैन । निषेधाज्ञापछि मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब ५० अंकले बढेको छ ।
सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन असारदेखि केही खुकुलो बनाएको थियो । यो अवधिमा धितोपत्रको दोस्रो बजार बन्द रहयो । तर, प्रविधिको प्रयोग गरेर बजारलाई सूचारु गर्ने निर्णयअनुसार अहिलेको निषेधाज्ञाको अवधिमा धितोपत्रको कारोबार भइरहेको छ ।
यो निषेधाज्ञा सुरु भएपछि गत साताको अन्तिम दिन बिहीबार र यो साताको आइतबार, सोमबार र मंगलबार निरन्तर नेप्से सूचक बढेको छ भने कारोबारमा पनि उत्साहजन नै रहेको छ । यसका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएसी, ब्रोकर कम्पनी तथा लगानीकर्ताहरु आफैंले पनि प्रयास गरेर आनलाइनका माध्यबाट घरबाटै सेयर कारोबार सम्भव गएसँगै बजार प्रतिलगानीकर्ताको आत्मबल बलियो भएको एक लगानीकर्ताले बताए । “आर्थिक गतिविधि ठप्प रहेको छ,” ती लगानीकर्ताले भने, “पैसा भएकालाई लगानी गर्ने अन्य विकल्प नभएकाले पनि बजार बढेको हो ।”
साथै धितोपत्र बजार र बैंकिङ क्षेत्रको ब्याजको उल्टो सम्बन्ध रहन्छ । पछिल्लो समयमा बैंकिङ प्रणालीको ब्याज दर घटिरहेको अवस्था छ । बैंकिङ प्रणालीको ब्याजदर घटेको अवस्थामा पुँजी बजार बढ्छ । पछिल्लो समयमा बैंकहरुमा निक्षेप थुप्रिएको अवस्था छ भने लगानी गर्ने अवसर पाउन सकेका छैनन् । बैंकमा सस्तो दरमा रहेको निक्षेप लगानीका अन्य अवसरहरु नभएपछि सेयर बजारमा आएको हुनाले पनि बजार बढेको अनुमान विश्लेषकहरुको छ ।
निषेधाज्ञाको समयमा प्रविधिको प्रयोग गरेर लगानीकर्ताले घरबाटै कारोबार गरेका छन् । निषेधाज्ञा नहुँदा र हुँदा धितोपत्रको दोस्रो बजारमा खासै भिन्नता देखिएको छैन । धितोपत्र दलाल कम्पनीकोमा गएर कारोबार गर्दा भन्दापनि घरबाट सेयर किनबेच गर्दा आत्मबल झनै बढ्ने लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए ।
निषेधाज्ञापछि नेप्सेमा ४ दिन कारोबार भएको छ । यो चार दिनमा नेप्से परिसूचक निरन्तर बढेको छ । नेप्से सूचक बिहीबार ६, आइतबार १२, सोमबार २१ र मंगलबार ९ अंंकले बढेको छ । यी कारोबार दिनमा कारोबार रकम पनि २ अर्बसम्म भएको छ । अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।
मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा पुगेको छ । नेप्सेमा १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता सेयर १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा २८ करोड कम हो । सोमबार २ अर्ब १३ करोड ९२ लाख बराबरको सेयर किनबेच भएको थियो । मंगलबार कारोबारमा आएका व्यापार, उत्पादन र म्युचुअल फण्डबाहेक सबै समूहको सूचक सकारात्मक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्