Logo

वातावरणीय प्रभाव मूल्यांकनबिना सडक निर्माण गर्दा वन विनास बढ्दो

दार्चुला-दार्चुला जिल्लाका सबैजसो स्थानीय तहको विकास निर्माणको पहिलो प्राथमिकतामा सडक परेको छ । पहाडी क्षेत्रमा रहेका बस्तीमा सडक सञ्जाल पु¥याएर अरु विकास निर्माणलाई समेत टेवा पुग्ने भएपछि स्थानीय तहले सडकलाई पहिलो प्राथमिकता दिएका हुन् ।
चालू आव सम्पन्न हुन दुई साता बाँकी रहेका बेला दार्चुला जिल्लाका अपिहिमाल, व्यास र दुुहुँ गाउँपालिकाबाहेक अन्य ६ वटा स्थानीय तहले सडक खन्ने काम गरिरहेका छन् । स्थानीय तहले सडक निर्माण गर्ने बेला वातावरणीय प्रभाव मूल्यांकन बिना नै सडक निर्माणको काम गर्दा यसबाट वनजंगल विनास हुनुका साथै अन्य विकास निर्माण पनि प्रभावित भइरहेको स्थानीयले बताएका छन् । जिल्लाका ६ वटा स्थानीय तह महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, नौगाड, मालिकार्जुन, लेकम र मार्मा गाउँपालिकामा कम्तीमा पनि प्रतिस्थानीय तहमा ५ भन्दा बढी ग्रामीण सडक निर्माण भइरहेका छन् ।
सडक निर्माण गर्दा बाटोघाटो हुनु फाइदा भए पनि यसबाट धेरै नोक्सानी बेहोर्र्नु परेको छ । ठूला योजना निर्माण गर्दा त्यसले वातावरणमा पार्ने प्रभाव कम गर्न तथा वातावरणमैत्री योजना निर्माण गर्नुपर्ने भए पनि जिल्लाका कुनै पनि स्थानीय तहले आफूहरूसँग समन्वय नगरेको जिल्ला वन अधिकृत संजय तिवारीले बताए । “अहिले स्थानीय तह स्वायत्त निकाय हुन्, तर पनि उनीहरूले योजना बनाउँदा वातावरणमैत्री बनाउनु पथ्र्यो, हामी कहाँ कसैले पनि समन्वय गरेनन्,” जिल्ला वन अधिकृत तिवारीले भने ।
विभिन्न ग्रामीण क्षेत्रमा वर्षातको समयमा पनि सडक निर्माणको काम भइरहँदा त्यसले खानेपानी, खेतीयोग्य जमिन, अन्य सहायक बाटोघाटोमा समेत प्रभाव पारेको छ । मेसिनले सडक निर्माण गर्दा जमिन कमजोर भई वर्षातको समयमा ठाउँठाउँमा पहिरो जानुका साथै कतिपय बस्ती नै धरापमा परेको मालिकार्जुन गाउँपालिका–४ का विरसिंह धामीले बताए । वातावरणीय प्रभाव मूल्यांकन गत वर्षमा नभए पनि आगामी आवबाट बन्ने सबै सडकको डीपीआर तयार पार्दा नै यो कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिने महाकाली नगरपालिकाका मेयर हंसराज भट्टको भनाइ छ । महाकाली नगरपालिकाले चालू आवमा पाँचवटा सडक निर्माण गरेको छ ।
त्यस्तै शैल्यशिखर नगरपालिकाले चालू आवमा १२ वटा सडक निर्माण गर्न लागेको छ । आगामी आवमा पनि शैल्यशिखर नगरपालिकाले सडकलाई नै प्राथमिकता दिएको छ । उता मार्मा गाउँपालिकामा चालू आवमा २ वटा सडक निर्माण भइरहेका छन् भने मालिकार्जुन गाउँपालिकाले ३ वटा सडक चालू आवमा निर्माण गरिरहेको छ । त्यस्तै लेकम र नौगाड गाउँपालिकाले चालू आवमा आधा दर्जन सडक निर्माण गरे पनि चालू आवमा वातावरणीय प्रभाव मूल्यांकन गरेको पाइएको छैन ।
कृष्ण धामी

प्रतिक्रिया दिनुहोस्