Logo

कलंकी–नागढुंगा सडक निर्माण तत्काल सक्न सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडक खण्ड निर्माणको काम तत्काल सक्न निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशहरु केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले सडक निर्माणको काम तत्काल सक्न आदेश गरेको हो । आदेशमा कानुनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडकको सीमा तोक्न भनिएको छ ।
सो खण्डमा सडक निर्माण कार्य ढिलो हुँदा स्थानीय धुवाँ र धुलोबाट पीडित बनेका छन् भने सो रुट हुँदै बाहिरिने सवारीका यात्रुहरुले समेत समस्या भोग्दै आएका छन् ।
त्यस्तै, सर्वोच्च अदालतले सडक विस्तारका क्रममा घरटहरा हटाउने सरकारको निर्णय खारेज गरेको छ । आदेशमा सो सडक खण्ड विस्तारका क्रममा घरटहरा हटाउने सरकारको निर्णय खारेज गर्दै जग्गाको मुआब्जासहित उचित क्षतिपूर्ति दिन सरकारको नाममा परमादेश जारी गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए । त्रिभुवन राजपथमा रहेको सो सडकखण्ड विस्तारको क्रममा सडक वरपर रहेका घर, टहरा हटाउने सरकारको निर्णय कुनै पनि दृष्टिले कानुनसम्मत नभएको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्