पुल सञ्चालनमा आएपछि स्थानीय खुसी «

पुल सञ्चालनमा आएपछि स्थानीय खुसी

अछाम-अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरीमा पक्कीपुल सञ्चालनमा आएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो ।
पुल सञ्चालनमा आएपछि स्थानीयवासीले खुसियाली मनाएका छन् भने पुलको उदघाटन पनि गरिएको छ । ४५ मिटर लामो पुल निर्माण सकिएको ३ वर्षपछि सञ्चालनमा आएकोे स्थानीय चन्द्र भण्डारीले बताए ।
यसअघि पुल हेर्नलाई पनि सिँढी चढ्नुपर्ने अवस्था थियो । पुल सञ्चालनमा ल्याउनका लागि रामारोशन गाउँपालिकाले १० लाख, मंगलसेन नगरपालिकाले १० लाख र बान्नीगढी जयगढ गाउँपालिकाकाले ५ लाख तथा जिल्ला समन्वय समितिले २० लाख गरी ४५ लाख लगानी गरेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद भास्करले बताए । यसअघि तत्कालीन जिल्ला विकास समितिमार्फत पुल निर्माणका लागि २ करोड ८९ लाख खर्च भएको थियो ।
पुल सञ्चालनमा आएसँगै रामारोशन क्षेत्रका हजारौं नागरिक र मंगलसेन तथा बान्नीगढीका स्थानीय तथा रामारोशन घुम्न आउने पर्यटकलाई सहज भएको साउदले बताए । पुल सञ्चालनमा आएसँगै पर्यटकीय क्षेत्र रामारोशन जाने मूल ढोका बाह्रै महिनाका लागि खुल्ला भएको उनले बताए । रामारोशन गाउँपालिकाको सक्रियता र अन्य २ स्थानीय तह र जिससको सहकार्यमा पुलको बाँकी काम सम्पन्न गरेर सञ्चालनमा ल्यायपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । पुल नहुँदा वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्था अन्त्य भएको र उपभोग्य सामानको ढुवानीमा पनि निकै सहज हुने स्थानीय दिनेशप्रसाद रेग्मीले बताए ।
होम साउद

प्रतिक्रिया दिनुहोस्